अपहरणमा संलग्न नाबालक सहित ४ पक्राउ

वैशाख १८, २०८२

शंकर आचार्य

4 arrested including a minor involved in kidnapping

पर्सा — युवक अपहरणमा संलग्न ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बारा कलैया उपमहानगरपालिका–१८ बस्ने वर्ष २६ को सुधिरप्रसाद साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा, वीरगन्ज मनपा–१२ मुर्ली का २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, पर्सा सखुवाप्रसौनी गाउँपालिका–३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् ।

साहको अपरहण भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब पौने १० बजेको समयमा वीरगन्ज–१२ मुर्लीस्थित एक घरबाट अपहरित साहलाई सकुशल उद्धार गरेको थियो । 

अपहरणमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर बुधबार पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी सुवास भट्टले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully