मधेशमा बालिका सम्मेलन : विवाह हैन पढ्न देउ

वैशाख १७, २०८२

अजित तिवारी

Girl conference in Madhesh: Let me read not marriage

जनकपुर — मधेशका ८ जिल्लाका करिब ६० जना बालिकाको सहभागितामा जनकपुरमा बुधबारदेखि मधेश बालिका सम्मेलन सुरु भएको छ । 'सक्षम बालिका, समृद्ध मधेश' नारा दिइएको दुई दिनसम्म चल्ने सम्मेलनले मधेशका बालिकाले भोग्दै आएका बाल विवाह, भागी विवाह, दहेज र विभेदलाई चिर्न कार्यदिशा तय गर्नेछ ।

मधेश प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवालले बालिका संरक्षणका लागि प्रदेश सरकार चुप लागेर नबसेको बताए । ‘मधेश हरेक पक्षमा पछाडि छ भने गम्भीर आरोप लाग्ने गरेको छ,’ सम्मेलनको उद्घाटन गर्दै मन्त्री जयसवालले भने, ‘दहेज, बाल विवाह त झन् हामीलाई समस्यामा पारेको छ । समाजमा रहेका समस्याका कारण मधेशप्रति नकारात्मक दृष्टिकोण बनेको । त्यो बदल्नुपर्छ ।’

उनले बालिकाको अधिकार र हकहितका लागि प्रदेश सरकारले बालिका संरक्षण ऐन ल्याएको र त्यसलाई नै टेकेर बेटी जिन्दावाद कार्यक्रम कार्यान्वयन गर्न लागेको बताए । ‘भागी विवाह पनि चिन्ताको विषय बनेको छ,’ मन्त्री जयसवालले भने, ‘विवाह समाजिक प्रतिष्ठासँग जोडिएकाले सानै उमेरमा भागेर विवाह गर्ने बढ्दो ट्रेन्डले पनि मधेशलाई अर्को समस्यामा लगेको छ ।’ 

प्रदेश सांसद एवं बालबालिका समितिकी सभापति रुपा यादवले विवाह गर्ने उमेर १८ वर्षमा झार्ने बहसको औचित्य नरहेको बताइन् । ‘१८ वर्ष विवाहका लागि तोक्नु राम्रो होइन,’ उनले भनिन्, ‘विवाहका लागि मात्र छोरी जन्मिएको भाष्य हटाउनुपर्छ । छोरी पनि डाक्टर, इञ्जिनियर, राष्ट्रपति र नेता बन्न सक्छिन् ।’ जनकपुर उपमहानगरका प्रमुख मनोज साहले भागी विवाह मधेशका लागि दु:खद पक्ष रहेको बताए । ‘मधेशमा बाल विवाह, दहेज र विभेद त छँदै थियो, अब भागी विवाह पनि थपिएको छ,’ उनले भने, ‘विवाहको उमेर २० वर्ष तोकिएपनि कमै उमेरमा भागेर विवाह गर्ने चलन बढेको छ । जुन दु:खद हो ।’

धनुषाकी बालिका प्रतिमा यादवले सानै उमेरदेखि नै विवाह गर्ने दबाबमा मधेशका बालिका रहेको बताइन् । उनले विवाह २० वर्ष नपुगी गर्न नहुने बताइन् । ‘अखन विवाह नै पढ दिय,’ बालिका यादवले भनिन्, ‘हामीले यो दबाब घरपरिवारमा चलाउनुपर्छ । सानै उमेरमा विवाह गर्ने दबाबले हामी चिन्तित र दु:खी छौं ।’

खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा बाल विवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालले आयोजना गरेको बालिका सम्मेलनमा धनुषाका बालबालिकाले बाल विवाह, भागी विवाह, दहेज र विभेदविरुद्ध 'इज्जोत' नाटक प्रदर्शन गरेका थिए । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully