प्रधानाध्यापकको खेतमा काम गर्न नमान्दा 'कारबाही'मा परेका कार्यालय सहयोगीले डेढ वर्षदेखि तलब पाएनन्

‘डेढ वर्षयता गाउँपालिका धाइरहेको छु, कतै हाजिर हुन नदिँदा अलपत्र परेको छु’

वैशाख १६, २०८२

विद्यानन्द राम

The office assistant who was subjected to 'action' for refusing to work in the headmaster's farm did not receive salary for one and a half years.

राजविराज — प्रधानाध्यापकको खेतमा काम गर्न नमान्दा एक कार्यालय सहयोगीले डेढ वर्षयता हाजिर गर्न पाएका छैनन् । तलब-भत्ता रोकिएको छ । 

सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित जनता आधारभूत विद्यालय बेल्हीमा कार्यरत कार्यालय सहयोगी राधेश्याम पासवानलाई प्रअले 'कारबाही' गरेका हुन् । पासवानले कार्यालय सहयोगीका रूपमा २३ वर्षअघि अस्थायी नियुक्ति पाएका थिए । पछिल्लो पटक सरुवा भएर आएका प्रअ बालेश्वर यादवको खेतमा काम गर्न नगएपछि हाजिर गर्नै रोक लगाइदिएको पासवानको भनाइ छ ।

‘उहाँकी पत्नीसँग गएर खेतमा ५० किलो मल छर्न प्रधानाध्यापकले भन्नुभयो तर मैले मानिनँ,’ पासवानले भने, ‘त्यसको दोस्रो दिनबाट हाजिर गर्नै दिनुभएन, पछि हाजिर गराइदिन गाउँपालिका पुगेर गुहार मागेँ तर त्यहाँ काज सरुवा भएको पत्र थमाइदिए ।’ 

२०८० मंसिर २६ गतेको पत्रअनुसार पासवानलाई सोही वडास्थित सलहेश दलित राष्ट्रिय आधारभूत विद्यालय बेल्हीमा काज सरुवा गरिएको छ । तर, त्यहाँ पहिलेदेखि नै कार्यालय सहयोगी रहेकाले उनलाई हाजिर गर्न दिइएन । ‘डेढ वर्षयता गाउँपालिका धाइरहेको छु, कतै हाजिर हुन नदिँदा अलपत्र परेको छु,’ उनले भने ।

२०५९ वैशाख ५ गतेमा अस्थायी नियुक्ती पाएका पासवानले डेढ वर्षदेखि तलब-भत्ता पनि पाएका छैनन् । पछिल्लो पटक २०८० भदौमा २० हजार ५ सय ३६ रुपैयाँ तलब पाएको उनले बताए । ‘सुरुको तीन वर्षसम्म विद्यालयमा काम गर्दा तलब पाइनँ, पछि लामो समयसम्म एक सय रुपैयाँ मात्रै तलब पाउँदा पनि काम गरिरहेँ तर अहिले जागिर नै अलपत्र पर्दा दुःख लाग्छ,’ उनले भने, ‘जागिर अलपत्र हुँदा परिवार चलाउन समस्या भइररहेको छ । दलित गरिबको पीडामा कसैले ध्यान दिएनन् ।’ 

प्रअ यादव पदीय दायित्व पूरा नगर्दा पासवानलाई कारबाही गरेको जिकिर गर्छन् । तर, गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश मण्डलले भने प्रअ यादवकै बदमासी देखिएको बताए । ‘पासवानलाई हाजिरै गर्न नदिएपछि तत्काललाई विवाद समाधान गर्न त्यो बेला काज सरुवा गरिएको थियो,’ उनले भने, ‘जबकि एक जना मात्र कार्यालय सहयोगी थिए, मैले रोक्न धेरै प्रयास गरेँ तर सकिनँ ।’

शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका सूचना अधिकारी कमलनाथ यादवले स्थानीय तहले बनाएको कार्यविधि वा मापदण्डअनुसार काज सरुवा गरेको हुन सक्ने बताए । तर, गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीको काज सरुवासम्बन्धी मापदण्ड बनाएको छैन । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डल एक जना मात्रै कार्यालय सहयोगी रहँदा पनि काज सरुवा गर्नु अव्यावहारिक रहेको बताउँछन् । ‘काज सरुवा गरेको ठाउँमा पनि हाजिर गराउन नसक्नु गलत हुन गएको छ,’ उनले भने, ‘मैले पनि निमित्त पाएको तीन महिना मात्रै भएको छ । शिक्षा शाखा र जनप्रतिनिधिसँग छलफल गरेर अघि बढ्छु ।’

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले पासवासलाई अर्को विद्यालयमा हाजिर गराउन प्रयास गरिरहेको बताए । ‘अह्राएको कुरा नमान्दा पासवानलाई हाजिर गर्न रोक लगाएको विषय मेरो जानकारीमा आएको छ,’ उनले भने, ‘राष्ट्रिय प्राथमिक विद्यालय बेल्हीमा कार्यालय सहयोगी छैनन्, त्यहीँ उनलाई राख्न खोजिरहेका छौं तर वातावरण नबन्दा हाजिर गराउन सकिएको छैन ।’

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully