सिरहा नगरपालिकालाई पब्लिकेशन तोकेरै किताब लागू नगर्न उच्चको अन्तरिम आदेश

वैशाख १६, २०८२

विनय आजाद

Interim order of the Highness not to implement the book by prescribing publication to Siraha municipality

सिरहा — सिरहा नगरपालिकाले पब्लिकेशन तोकेरै पाठ्यपुस्तक लागू गर्न गरेको निर्णय र जारी गरेको परिपत्र कार्यान्वयनमा उच्च अदालतले रोक लगाएको छ। उच्च अदालत, राजविराज इजलासले आइतबार यसलाई कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेश दिएको हो।

न्यायाधीशद्वय सरला कुमारी पाण्डे र माधव धितालको संयुक्त इजलासले दिएको अन्तरिम आदेशमा सिरहा नगरपालिकाले तोकिएकै पब्लिकेशनको किताब अनिवार्य प्रयोग गर्न २०८१ चैत १८ मा गरेको निर्णय र चैत २० मा जारी गरेको सूचना रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न उल्लेख छ।

नगरपालिकाले नेपाली, अंग्रेजी, अनिवार्य गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन किताब तक्षशिला, जनक शिक्षा सामग्री केन्द्र, टाइम्स, वेदान्त, विद्यार्थी र रिडमोर पब्लिकेशनको मात्रै प्रयोग गर्न आदेशात्मक निर्देशन जारी गर्दै आएको थियो। नगरपालिकाले यसलाई नमान्ने विद्यालयलाई कारबाहीको चेतावनी पनि दिँदै आएको थियो।

जबकि शिक्षा नियमावली, २०५९ को नियम ६ (क) मा नेपाल सरकारबाट स्वीकृत कुनै पब्लिकेशनको पाठ्यपुस्तक प्रयोग गर्न पाइने प्रावधान छ। पालिकाको यस्तो परिपत्रपछि यसको विपक्षमा प्याब्सन सिरहाको तर्फबाट भरतकुमार यादव उत्प्रेषणयुक्त निषेधाज्ञाको माग गर्दै रिट निवेदन लिएर उच्च गएका थिए।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully