वीरगन्जमा रगत अभाव

वैशाख १६, २०८२

शंकर आचार्य

Blood shortage in Birganj

पर्सा — गर्मी बढेसँगै वीरगन्जमा रगतको अभाव सुरु भएको छ । यहाँस्थित रक्त सञ्चार केन्द्रमा मंगलबार मुस्किलले ३० पोका रगत मौज्दात रहेको छ ।

केन्द्रका प्राविधिक धीरेन्द्र झाका अनुसार केन्द्रमा दैनिक ७० देखि ८० पोका रगतको माग रहेकामा आपूर्ति भने बन्द प्रायः रहेको छ । ‘रगतको उच्च माग छ, तर आपूर्ति गर्ने रक्तदान कार्यक्रम घटेका छन्,’ उनले भने, ‘साताको एक दिन शनिबार मात्र प्रायः वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना हुन्छ, त्यसकै भर छ ।’ 

रक्तदान कार्यक्रम पनि गर्मी लागेसँगै घट्दो क्रममा हुने गरेका छन् । यस्तो अवस्थामा रगतको माग गर्न आउनेलाई प्रायः सट्टाभर्ना गरेर मात्र रगत दिनुपरेको उनले बताए । यसरी सट्टा भर्नामा रगत दिँदा पनि सम्बन्धित समूहकै रगत लिने गरिएकाले रगत माग गर्नेलाई पनि सास्ती हुने गरेको झा बताउँछन् । 

यसबाहेक कुरुवा बसेकाहरु, भारतीय नागरिक, बेवारिस अवस्थामा बिरामी भएका व्यक्ति, एचआईभी संक्रमित, डायलसिस र थाइलेसिमियाका बिरामीलाई पनि नियमित रुपमा तत्कालै रगत उपलब्ध गराउनुपर्ने जिम्मेवारी रहेको उनले बताए । यस्तो अवस्थामा चिकित्सकले सिफारिस गरेको रगत उपलब्ध गराउन पनि हम्मेहम्मे पर्ने गरेको उनी बताउँछन् । 

हाल केन्द्रमा बी र ओ समूहका रगतको माग बढी रहेको उनले बताए । एबी, ए, ए पोजिटिभ रक्त समूहको रगत दुर्लभ छ । सामान्य अवस्थामा पनि तराईमा रक्तदानप्रति रुचि नराख्ने प्रवृत्ति रहेको र हालका दिन गर्मी बढेसँगै नियमित रक्तदान कार्यक्रम पनि घट्दो क्रममा छ । यस्तो अवस्थामा सामाजिक संघसंस्था रगत संकलन गर्ने अभियानमा जुटे धेरै राहत हुने उनले बताए । 

यहाँ दुई दर्जन सानाठूला अस्पताल रहेकाले रगतको माग अत्यधिक हुने गरेको छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully