राजविराज कारागारबाट थुनुवा भागे

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Prisoner escaped from Rajviraj Jail

राजविराज — सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट एक जना थुनुवा आइतबार राति फरार भएका छन् ।

उच्च सुरक्षा सर्तकता र चारैतिर अग्लो पर्खाल रहेका बाबजुद पनि थुनुवा भागेका हुन् । चोरी मुद्दामा पुर्पक्षका लागी सप्तरी जिल्ला कारागारमा कारागार जीवन बिताइरहेका शम्भुनाथ नगरपालिका–११ का ३५ वर्षीय रमानन्द मण्डल भागेको कारागार प्रमुख मातृकाप्रसाद दहालले बताए । उनी २०८१ साल पुस ६ गतेदेखि पुर्पक्षका लागी कारागारमा थिए । 

उनी कसरी भागे भन्ने विषय अझै पनि एकिन हुन नसकेको कारागार प्रमुख दहालले बताए । 'आइतबार राति हावा हुण्डरी र चट्याङ परिरहेको बेला भागेको हुन सक्छ तर अग्लो पर्खाल र सुरक्षाका बाबजुद कसरी भागे थाहै भएन, 'दहालले भने । बिहान थुनुवा र कैदी गणना गर्दा संख्या नपुगेपछि थुनुवा मण्डल भागेको कारागार प्रशासनले थाहा पाएको थियो ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले कारागारबाट भागेका मण्डलको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए । जिल्ला कारागारमा ड्युटीमा खटिएका प्रहरीहरुमाथि समेत आवश्यक अनुसन्धान भइरहेको एसपी खतिवडाले बताए ।

कान्तिपुर

Link copied successfully