अतिक्रमण रोक्न वृक्षारोपण

वैशाख १५, २०८२

शिव पुरी

Plantation to prevent encroachment

रौतहट — डिभिजन वन कार्यालय रौतहटले चादीखोला नदी उकास वन क्षेत्रमा अतिक्रमण रोक्न वृक्षारोपण सुरु गरेको छ । चन्द्रपुर नगरपालिका–३, गैडाटारस्थित उकास क्षेत्रमा विभिन्न जातको विरुवा लगाउन सुरु गरेको हो ।

विरुवा लगाइएको क्षेत्रमा वनले निगरानी र तारबार लगाएको छ । उक्त क्षेत्रमा केही व्यक्तिले वनक्षेत्र अतिक्रमणको प्रयास गरे पछि वनले नियन्त्रण गर्न उक्त कदम चालेको हो । 

गैडाटार सव डिभिजन वनका प्रमुख रेन्जर लक्ष्मी कर्णले अतिक्रमणकारीले वनलाई बदनाम गराउन साना रुख काट्ने र घेराबार गर्न थाले पछि त्यसलाई रोक्न आइतबारबाट वृक्षारोपण थालेको जानकारी दिइन् ।

‘चादी नदी उकास क्षेत्रमा पहिलेदेखि नै अतिक्रमण गरि बसेको बस्तीको पश्चिमपट्टी थप अतिक्रमण नहोस् भन्नका लागि हामीले विरुवा रोपेका छौं,’ उनले भनिन्,‘करिब ६ हेक्टर क्षेत्रफलमा सिसौ, सपेता जातका ५ हजार विरुवा रोपेका छौं । अब यसको संरक्षणमा लाग्छौं र थप अतिक्रमण हुनबाट जोगाउँछौं ।’

पूर्वमा सरकारी विद्यालय, भोर्लेनी सामुदायिक वन, पश्चिममा कछडिया निकास, तिलेश्वरनाथ सामुदायिक वन, उत्तरमा आवादी र दक्षिण क्षेत्रका नदी उकास जमिनमा अतिक्रमणको प्रयास हुँदै आएको वन कार्यालयले जनाएको छ । 

त्यस क्षेत्रका स्थानीयले तारबार सहितको घेरा लगाएर वन क्षेत्र अतिक्रमण गरी खेत बनाउने प्रयास थालेका थिए । स्थानीयले लगाएको पोल, तारबार हटाइएको डिभिजन वन प्रमुख हेमन्त साहले जानकारी दिए । तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी ठूलो संख्यामा सुरक्षाकर्मीसमेतको उपस्थितिमा वनले वृक्षारोपण सुरु गरेको हो । 

‘वनक्षेत्रका रुख काट्ने, विरुवा हानी नोक्सानी गर्ने/गराउने कार्यमा संलग्नको खोजतलास सुरु गरेका छौं,’ वनप्रमुख साहले भने, ‘फेला परेमा पक्राउ गरी वन ऐन २०७६ बमोजिम कडा कारबाही गर्छौं । अतिक्रमणको नाममा वनमा हानि नोक्सानी गर्नेलाई छाडिन्न ।’

पछिल्लो समय मधेश प्रदेशका जिल्लामा राष्ट्रिय वन अतिक्रमणको समस्या विकराल बन्दै गएको छ । अतिक्रमण हटाउन वनलाई ‘सकस’ परेको छ । अतिक्रमणकारीलाई राजनीतिक दलले अघोषित रुपमा समर्थन गर्ने परिपाटीले वनजंगल जोगाउन समस्या भइरहेको वनको बुझाइ छ । जिल्लाको कुल २९ हजार ४ सय ३६.३३० हेक्टर राष्ट्रिय वन क्षेत्र हो । 

पछिल्लो समय ३ हजार १ सय ९०.५२० हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ । गैंडाटार, पौराई, वृन्दावन, धन्सार क्षेत्रमा १७ हेक्टर राष्ट्रिय वनमा लगाएको मकैबाली, तारबार हटाई वन क्षेत्र कायम गराएको वन प्रमुख साहले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully