बरियारपट्टीमा ‘जनता आवास’ अनुदानका घर प्रयोगविहीन

वैशाख १३, २०८२

रासस

In Bariyarpatti, the 'Janata Awas' subsidized houses are unused

सिरहा — सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएका घरहरू प्रयोग भएका छैनन्। 

हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । यहाँ १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको कार्यक्रमका प्राविधिक रवीन्द्र यादवले बताए।

'तीन घर परिवारको लालपुर्जा नभएका कारण घर बन्न सकेको छैन,' उनले भने, 'पालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा उनीहरू जान नमानेपछि समस्या भएको हो । बनेका घरहरू सम्बन्धित व्यक्तिलाई दुई वर्षअघि हस्तान्तरण गरिसकिएको छ ।'

उनका अनुसार एक घर निर्माण गर्न जनता आवास कार्यक्रमले तीन लाख ३२ हजार अनुदानमा उपलब्ध गराएको थियो । यो कार्यक्रम सञ्चालन गरिँदा कतिपय डोम परिवारले जमिन खोज्दै घर निर्माण गर्नुपरेको थियो। आफ्ना नाममा जमिन नहुनेहरूले अर्कासँग जमिन खरिद गरी घर निर्माण गरेका थिए।

यिनैमध्येका एक हुन् कैला मरिक । बाटो, बिजुली, खानेपानीको सुविधा नभएकाले बस्न नसकेको मरिकको भनाइ छ । उनले भने,'अरू सुविधामा सरकारले बेवास्ता गरेका कारण उक्त घरमा नबसेर यही झुप्रोमा बस्नुपरेको हो ।' सरकारले घरसम्म जाने बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिए आफूहरू तत्कालै उक्त घरमा सर्ने उनले बताए। 

पटकपटक उक्त घरमा सर्न आग्रह गरे पनि उनीहरू नमानेको वडाको भनाइ छ । वडा नं ३ का वडाध्यक्ष विनोदकुमार यादवले डोम परिवार बजार छोडेर वरपर जानै नमान्ने गरेको गुनासो गरे। उनले भने, 'यदि उनीहरू उक्त घरमा बस्ने सुनिश्चित भए वडाले तत्कालै बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिन्छ । तर जाने निश्चित उनीहरूले गर्नुपर्छ । हामीले लगानी गरेर उनीहरू गएनन् भने वडाको लगानी पनि बालुवामा पानी सरह हुने भयो नि ।'

वडाध्यक्ष यादवका अनुसार यहाँका डोम समुदाय बाँसबाट बुनेका सामग्री बनाउने र बजारमा बेच्ने हुँदा उक्त स्थान छोड्न नमान्ने  गरिरहेका छन्। हुलाकी सडक विस्तारको काम पुनः सूचारू हुँदा डोम समुदायले अहिले वसोबास गरिरहेको थातथलो पनि छोड्नुपर्ने अवस्था आउने र त्यो बेला उक्त घरहरू प्रयोगमा आउन सक्ने उनले बताए। 

रासस

Link copied successfully