जनकपुरधाम — मधेश प्रदेशका जिल्लामा औलोका बिरामीको संख्या सय नाघेको छ । औलो संक्रमितको संख्या एक सय दुई पुगेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवन नायकले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सर्लाहीमा ४८ र सबैभन्दा कम सप्तरीमा दुई जना संक्रमित भएका छन् ।
रौतहटमा २२, धनुषामा ८, महोत्तरीमा ६, बारामा १४ र पर्सा जिल्लामा तीन जना औलोका बिरामी भेटिएको उनले जनाए । संक्रमितमध्ये ८९ जना १५ वर्ष माथिका पुरुष रहेका छन् ।
मधेश प्रदेश सरकारले औलो नियन्त्रणका लागि ६ सय ४४ गर्भवती महिलालाई औषधियुक्त झुल वितरण गरेको र ६० हजार ७ सय ८४ जनसंख्या लाभान्वित हुने गरी औलो विरुद्धको औषधि छरेका थिए ।
एनोफेलिज जातको पोथी लामखुट्टेले टोकेको खण्डमा औलो हुने गरेको उनले बताए । लामखुट्टेको टोकाईबाट जोगिनु पर्ने, नियमित रुपमा झुलको प्रयोग गर्ने, औलो प्रभावित क्षेत्रमा औषधि छर्किनु पर्ने चिकित्सको सुझाव छ ।
