चन्द्रपुरमा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

वैशाख १२, २०८२

शिव पुरी

Psychosocial counseling program completed in Chandrapur

रौतहट — चन्द्रपुरमा आधारभूत मनोसामाजिक परामर्श तथा सहयोग कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल, ग्रामीण विकास केन्द्र नेपालको संयुक्त आयोजना र गरुडा र माधवनारायण नगरपालिकाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

गरुडा नगरपालिकाबाट १४ र माधवनारायणबाट १५ गरी २९ जना बाल संरक्षण क्षेत्रका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।

दुवै पालिकाका बाल कल्याण अधिकारि, बाल अधिकार समितिका पदाधिकारी, शिक्षक, स्वास्थ्यकर्मी, बाल सन्जालका प्रतिनिधि, रुपान्तरण सहजकर्ताले कार्यक्रम सहभागी जनाएको ग्रामीण विकास केन्द्र नेपालका पुनम रोकाले जानकारी दिइन् । ‘समुदायमा व्याप्त मनोसामाजिक समस्याप्रतिको जागरुकता बढाउन र प्रभावकारी सहयोग प्रणाली निर्माण गर्न कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ,' उनले भनिन्, ‘सहभागीहरुले सबै पालिकाहरुमा कार्यक्रम गर्न सुझाव दिएका छन् ।’

मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगसम्बन्धी आधारभूत अवधारणा, मनोसामाजिक समस्या, परामर्श प्रक्रिया, सञ्चारका सीप, आत्म–चिनारी, सहयोग संयन्त्र, समूह व्यवस्थापन र आगामी कार्य योजना निर्माणसम्बन्धी विषयवस्तुमा उल्लेखनिय ज्ञान र सीप प्राप्त भएको रोकाको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रशिक्षित मनोसामाजिक परामर्शकर्ताद्वारा कार्यक्रमको सहजीकरण गरिएको थियो । सहभागीहले जिल्लाको सबै नगरपालिकामा यस्तो तालिमको आवश्यकता रहेको बताए । पूर्णरुपमा सहभागितामूलक विधिबाट सञ्चालन गरिएको तालिममा छलफल, मस्तिष्क मन्थन, भूमिका अभिनय, विश्राम अभ्यास तथा व्यक्तिगत प्रस्तुतिजस्ता अभ्यास समावेश गरिएको थियो । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully