पर्सा — सशस्त्र प्रहरीले १५ लाख ६० हजार बराबरको भन्सार छलीको मालबस्तु बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ । शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले वीरगन्ज मनपा–२४ रामगढवास्थित वीरगन्ज पाठशाला अगाडिको सडकबाट उक्त वस्तु बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छली चोरीपैठारी गरी १० वटा कार्टूनहरुमा प्याक गरिएका मल्टी भिटामिन तथा मल्टी मिनिरल्स क्याप्सुल ४ सय ८० डब्बा बरामद गरेको हो । ना २ स १०१७ नम्बरको अटोमा लोड गरी ल्याइरहेको अवस्थामा नियन्त्रणमा लिई उक्त क्याप्सुल सहितको अटो, अटो चालक जिल्ला वीरगन्ज मनपा–२५, सिर्सिया गाउँका ३६ वर्षीय अमृत साह कानु र उक्त कार्यमा संलग्न २ थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको हो ।
अटो र मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ तथा क्याप्सुलको मूल्य ९ लाख ६० हजार गरी १५ लाख ६० हजार बराबरको औषधिसहित व्यक्ति समेतलाई नियन्त्रणमा लिई कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।
