रौतहटको गरुडास्थित नदीमा बालकको शव फेला

वैशाख १२, २०८२

शिव पुरी

A child's body was found in the river at Garuda in Rautahat

रौतहट — रौतहटको गरुडा नगरपालिका–८ स्थित चादी नदीमा बिहीबार अबेर साँझ एक बालकको शव फेला परेको छ । पाँच दिनदेखि हराइरहेका वृन्दावन नगरपालिका–७ का १४ वर्षीय कृष्णप्रसाद यादवको शव पानीमा घोप्टो परेको अवस्थामा परेको हो । शुक्रबार प्रहरीले घटनाबारे जानकारी गराएको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीसहितको टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको थियो । 'शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या जस्तो देखिएको छ,' उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ । हत्या हो वा होइन भन्ने चाँडै पत्ता लाग्छ ।' 

वैशाख ६ गते गते बेलुकी ४ बजे यादव घरबाट बिर्ता गाउँ जान्छु भनी आफ्नै मोटरसाइकल चढेर निस्किएका थिए । राति अबेरसम्म नआएपछि परिवारका सदस्यले खोजतलास गरेका थिए । मोटरसाइकलसहित बेपत्ता भएका उनको खोजतलासका लागि अभिभावकले गरुडा प्रहरीमा निवेदन दिएका थिए ।

बालकको पेट र कन्चटमा गहिरो घाउको खत देखिएकाले धारिलो हतियार प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यादवले चलाएको मोटरसाइकल भने अहिलेसम्म फेला परेको छैन । शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully