उच्च अदालतको इजलासमा दुई प्याकेट सिन्दुर र मुकुट कसले राख्यो?

वैशाख ११, २०८२

शंकर आचार्य

Who placed two packets of vermilion and crown on the bench of the High Court?

पर्सा — २ प्याकेट सिन्दुर र एउटा सामान्य मुकुट । दुवै वस्तु खासै महँगा र दुर्लभ पनि हैनन् । तर यी वस्तु अदालतका न्यायाधीशको टेबुलमा रहस्यमयी ढंगले राखिएपछि भने अनेक शंका उब्जायो ।

यस्तै घटना बुधबार वीरगन्जमा भयो । यहाँस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासमा भएको यो घटनाले सबैलाई अचम्मित बनायो । प्रहरीसम्म आएर घटनाबारे अनुसन्धान सुरु गर्नुपर्‍यो । तर प्रहरी पनि घटनाको चुरोसम्म पुग्न सकेको छैन ।  

अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासको टेबुलमा बिहान करीब ८ बजेर ४५ मिनेटदेखि ४६ मिनेटको बीचमा एक अपरिचित महिला प्रवेश गर्छिन् । ती महिलाले टेबुलमा २ प्याकेट सिन्दुर र एउटा सानो मुकुट राख्छिन् ।

१ मिनेट पनि नलाग्ने गरी ती महिला इजलासबाट गायब हुन्छिन् । इजलासमा सीसीटीभी क्यामेरा जडान गरिँदैन । तर इजलास बाहिरको क्यामेरामा ती महिलाले यो काम गर्न एक मिनेट पनि नलगाएको देखिएको छ । अदातलका सूचना अधिकारी एवम् उप रजिष्ट्रार शम्मीकपुर साहले इजलास बस्नुअघि नै भएको यो घटनाले बुधबार बिहान इजलाससमेत प्रभावित भएको बताए । 

‘करिब १० बजे अदालतका कर्मचारी इजालसमा फाइल आदि राख्न जाँदा टेबुलमा सिन्दुर र मुकुट देखेपछि हामीले यसबारे चाल पायौं,’ साहले भने, ‘हामीले प्रहरीलाई खबर गर्‍यौं, प्रहरी आएर अनुसन्धान सुरु गरेको छ, हामीले उपलब्ध भएको सीसीटीभी क्यामेराको फुटेज पनि प्रहरीलाई दिएका छौं ।’ 

सामान्यतया अदालत परिसरमा प्रहरीको उपस्थिति चौबिसै घण्टा हुन्छ । बिहान सरसफाइ प्रयोजनका लागि इजलास कक्ष खोल्ने गरिन्छ ।

साहले क्यामेरामा देखिएकी महिलालाई यसअघि अदालतका कुनै पनि कर्मचारीले नदेखेको बताएका छन् । ‘हामीले सुरुमा ती महिलाको अदालतसँग कुनै सरोकार छ कि भनेर अनुसन्धान पनि गर्‍यौं,’ उनले भने, ‘तर कतैबाट पनि ती महिलाको अदालतसँगको सम्बन्ध देखिएन, न त कुनै मुद्दामा पक्ष विपक्ष वा तारेखमा उनी बसेकी छिन् ।’ 

मध्यान्ह करिब १२ बजेदेखि इजलासको नियमित कामकाज सुरु भएको उनले बताए । आफूहरुले प्रहरीलाई सम्पूर्ण सूचना दिएकाले बाँकी अनुसन्धान कार्य प्रहरीले गर्ने उनले बताए । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी किशोर लम्सालले उच्च अदालतबाट घटना बारे सूचना आएपछि आफूले वडा प्रहरी कार्यालय श्रीपुरको टोली त्यहा पठाएर आवश्यक अनुसन्धान सुरु गरेको बताए ।

‘हामीले हेर्दा एउटी अपरिचित महिला इजलासमा प्रवेश गरेको देखिन्छ, तर उनलाई कसैले पनि चिनेको छैन,’ लम्सालले भने, ‘अदालतसँग उनको कुनै न कुनै सम्बन्ध हुन सक्छ, कुनै मुद्दाको पक्ष विपक्ष वा अरु कुनै महिला पनि हुन सक्छिन् ।’ ती महिला पक्राउ परेपछि मात्र सिन्दुर र मुकुटको रहस्य खुल्ने उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully