सिरहाबाट पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ

वैशाख ११, २०८२

विनय आजाद

Two Indians arrested with pistol and bullets from Siraha

सिरहा — सिरहाको सीमावर्ती क्षेत्रबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित नरगी चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू भारत, बिहार राज्यको मधुवनी जिल्लास्थित पिपराही ग्रामपञ्चायत–२, कमलपुरका १९ वर्षीय राजिव सिंह र प्रिन्स सिंह हुन् । उनीहरूलाई गत सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा आएका उनीहरूलाई नरगी चोकमा शंका लागेर चेकजाँच गर्दा प्रिन्स सिंहको कम्मरमा लुकाइएको एक थान पेस्तोल र ट्र्याकसूटमा लुकाइएको एक थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको उनले बताए । उनले भने, 'उनीहरू किन आएका थिए, उद्देश्य के हो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौँ ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully