साल्ट ट्रेडिङको २ हजार ५ सय टन युरिया रक्सौल आइपुग्यो

वैशाख ११, २०८२

शंकर आचार्य

Salt Trading's 2,500 tons of urea arrived in Raxaul

पर्सा — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको युरिया मल बोकेको दोस्रो रेल्वे र्‍याक बिहीबार बिहान वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेसन आइपुगेको छ । २ हजार ५ सय टन युरिया बोकेको यो र्‍याक कोलकाता बन्दरगाहबाट आएको हो । त्यहाँबाट ट्रकमा मल ढुवानी गरी वीरगन्ज ल्याइनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको युरिया मल बोकेको दोस्रो रेल्वे र्‍याक बिहीबार बिहान वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेसन आइपुगेको छ । २ हजार ५ सय टन युरिया बोकेको यो र्‍याक कोलकाता बन्दरगाहबाट आएको हो । त्यहाँबाट ट्रकमा मल ढुवानी गरी वीरगन्ज ल्याइनेछ । 

यसअघि आइतबार पहिलो रेल्वे र्‍याकले २ हजार ५ सय टन युरिया मल ल्याएको थियो । साल्ट ट्रेडिङले ग्लोबल टेन्डरबाट ३० हजार टन युरिया मल आयात गर्न लागेकामा सोही कन्साइन्मेन्टको मल निरन्तर भित्रिन थालेको हो । 

साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेले आदित्य बिरला कम्पनी  आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्टअन्तर्गत थप २ हजार ५ सय टन युरिया मल बोकेको अर्को रेल्वे र्‍याक भारतीय रेलमार्गमै रहेको बताए ।  

आपूर्तिकर्ता कम्पनीले चीनबाट यो कन्साइन्मेन्टको मल ल्याइरहेको छ । कुल ३० हजार टनमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले करिब १२ हजार ७ सय ७४ टन मल पाउने उनले जानकारी दिए । बाँकी मल भैरहवा र विराटनर प्रादेशिक कार्यालयले पाउनेछन् । 

भित्रिँदै गरेको मल साल्ट ट्रेडिङको वीरगन्जस्थित गोदाममा भण्डारण गरिएसँगै माग भएका जिल्लामा परिचालन समेत गर्न थालिएको लामिछानेले बताए । बिहीबारसम्म हेटौंडामा ६३ टन, काठमाडौंमा ४२ टन र धनुषामा २२ टन मल परिचालन भइसकेको उनले बताए । 

कार्यालयले मधेश प्रदेश, बागमती र गण्डकीका गरी १६ जिल्लामा मल परिचालन गर्दै आएको छ । हाल भित्रिएको मल तराई र पहाडका जिल्लामा चैते धान बालीको लागि उपयोगी भइरहेको लामिछानेले बताए ।

यो कन्साइन्मेन्टको मलमध्ये मधेशका जिल्लाले ७ हजार १ सय ५५, बागमतीका जिल्लाले ३ हजार ९ सय ९६ र गण्डकीका जिल्लाले १ हजार ३ सय २३ टन मल पाउनेछन् । मधेश प्रदेशका सप्तरी र सिरहा जिल्लामा भने कोशी प्रादेशिक कार्यालयबाट मल परिचालन हुने गरेको लामिछानेले बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully