अनुदानको रकम हत्याउन फर्जी क्याम्पस प्रमुख नियुक्त

अनुदानकै लागि नाममात्रको क्याम्पस प्रमुख बनाइएको सञ्चालक समितिकै अध्यक्षको स्वीकारोक्ति

वैशाख ११, २०८२

विनय आजाद

Fake campus head appointed to kill grant money

सिरहा — सिरहाको गोलबजारमा अवस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस विगत दस वर्षदेखि पूर्णकालीन प्रमुखविहीन छ। सरकारी शिक्षकसमेत रहेका किशोरकुमार साह गैरकानुनी रूपमा अस्थायी रूपमा क्याम्पस प्रमुख भएर काम गर्दै आएका छन्।

धनगढीमाई नगरपालिका–११ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी शिक्षक रहेका साहलाई क्याम्पस सञ्चालक समितिले २०७१ माघ २३ मा तीन वर्षका लागि प्रमुखको रूपमा नियुक्त गरेको थियो। तर, करार अवधि सकिए पनि उनी अझै क्याम्पस प्रमुखमै कायम छन्।

विश्वविद्यालय अनुदान आयोगले विद्यार्थी सङ्ख्याका आधारमा सामुदायिक क्याम्पसहरूलाई बर्सेनि अनुदान दिने गर्छ। त्यसका लागि भने पूर्णकालीन प्रमुख आवश्यक हुन्छ। तर, यो क्याम्पसमा पूर्णकालीन प्रमुख नहुँदा आयोगले निरन्तर अनुदान रकम घटाउँदै आएको थियो। आयोगले यसपालि भने अनुदान नै कट्टा गर्ने तयारी गरेको थियो।

पूर्णकालीन प्रमुख अनिवार्य हुने बाध्यकारी नियमका कारण अनुदान कट्टा हुने भएपछि चरम आर्थिक अनियमितताले विवादमा रहेको यो क्याम्पसबाट गोप्य रूपमा फर्जी प्रमुख खडा गरी आयोगमा पत्र पठाइएको खुलेको छ। कान्तिपुरले स्रोतबाट फेला पारेको उक्त पत्रमा '२०८१ कात्तिक २४ गतेदेखि लागू हुने गरी चार वर्षका लागि मनोजकुमार साहलाई पूर्णकालीन प्रमुखको जिम्मेवारी दिइएको' उल्लेख छ।

अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द्र पटेलले पनि क्याम्पसबाट नयाँ प्रमुख नियुक्त गरिएको पत्र आएको पुष्टि गरे। क्याम्पसको पत्र २०८१ चैत १२ मा आयोगमा प्राप्त भएको उनले बताए। प्रमुख नियुक्त गरिएका मनोज साह यही क्याम्पसका अङ्ग्रेजी शिक्षक हुन्। तर, आफू प्रमुख नियुक्त भएको कुरो उनी आफैंलाई थाहा छैन।

यस विषयमा आफूलाई केही थाहा नभएको र अहिले पनि क्याम्पस प्रमुख किशोर साह नै भएको उनले बताए। 'मलाई औपचारिक वा अनौपचारिक रूपमा केही जानकारी छैन,' उनले भने, 'अहिले पनि क्याम्पस प्रमुख किशोर साह नै हो।'

यसरी अनुदान रकम हत्याउनकै लागि फर्जी रूपमा पूर्णकालीन प्रमुख खडा गर्ने काममा प्रमुख साहदेखि सञ्चालक समितिसम्मको संलग्नता देखिन्छ। सञ्चालक समितिका अध्यक्ष सूर्यमान तामाङले पनि अनुदानकै लागि मनोज साहलाई प्रमुख नियुक्त गरिएको स्वीकार गरे।

'क्याम्पस प्रमुख त किशोर साह नै हो, तर मनोजलाई अनुदानका लागि प्राविधिक कुरा मिलाउन प्रमुख नियुक्त गरिएको हो,' उनले भने, 'किशोरले नामकै नियुक्त गरेर पठाउनुपर्छ भनेपछि मैले सही गरिदिएको हुँ। कानुनी रूपमा मिल्छ कि मिल्दैन, थाहा भएन।'

यस विषयमा प्रमुख साहसँग प्रतिक्रिया लिन खोज्दा उनले फोनमा केही नबोल्ने बताएका छन्। 'अब के हो के होइन, मलाई थाहा छैन,' उनले भने, 'म फोनमा केही भन्न सक्दिनँ, भेटेरै कुरा गरौं।'

मधेस प्रदेशसभा सदस्यसमेत रहेका क्याम्पस सञ्चालक समिति सदस्य मनोजकुमार सिंहले नयाँ प्रमुख नियुक्त गरिएको विषयमा आफूलाई जानकारी नभएको बताए। 'यसका लागि समितिको बैठक बस्नुपर्छ, तर बीचमा बैठक बसेको छैन,' उनले भने, 'म बसेको कुनै बैठकमा यस्तो निर्णय भएको छैन। म बुझ्दछु।'

Fake campus head appointed to kill grant money

त्यस्तै, सञ्चालक समिति सदस्य एवं गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम श्रेष्ठले पनि यस विषयमा आफूलाई जानकारी नभएको दाबी गरे। 'बुझेर जानकारी गराउँछु' भनेका उनी त्यसपछि पटक–पटक सम्पर्कमा आउन चाहेनन्।

सञ्चालक समितिका अर्का सदस्य चन्दर यादवले 'बैठकविनै प्रमुख फेरिएको सुन्दा म आश्चर्यचकित छु' भने। आफ्नो हस्ताक्षरसमेत किर्ते गरिएको हुन सक्ने भन्दै क्याम्पसमा सोधखोज गर्ने जनाए।

यो क्याम्पसलाई हालका प्रमुख साह र सञ्चालक समितिका केही पदाधिकारीहरूले 'कमाइ खाने भाँडो' बनाएको आरोप समितिकै सदस्य रामचन्द्र महतोको छ। 'क्याम्पसलाई भ्रष्टाचारको अखडा बनाइएको छ,' उनले भने, 'प्रमुख र केही पदाधिकारीहरूले यसलाई कमाइ खाने भाँडो बनाएका छन्। म चाँडै राजीनामा बुझाउँछु।'

प्रमुखले केही पदाधिकारीलाई आर्थिक प्रभावमा पारेर बर्सेनि एक करोडभन्दा बढी रकम हिनामिना गरेको र दस वर्षमा कम्तीमा दस करोड रुपैयाँ भ्रष्टाचार गरिएको उनको आरोप छ। 'म समितिमा रहँदा त्यहाँका धेरै कुरा बुझ्न पाएँ,' उनले भने, 'सुधारको प्रयास गरेँ, तर सकिनँ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully