जनकपुरधाम — स्वतन्त्र प्रजातान्त्रिक युवा संघ नेपालले आयोजना गरेको ‘नेपालको समृद्धिमा भारतको भूमिका’ विषयक कार्यक्रमको मञ्च महिलाविहीन देखिएको छ ।
मंगलबार दिउँसो जनकपुरधाममा सुरु भएको कार्यक्रममा शीर्ष नेता र विज्ञ गरी एक दर्जन व्यक्तिको उपस्थिति गराइएको थियो । तर, एक जना पनि महिलालाई मञ्चमा उपस्थिति गराइएन ।
कार्यक्रमको सुरुवातमै कार्यपत्र प्रस्तुत गर्दै नेपाल–भारत जानकार उद्धव प्याकुरेलले मञ्च महिलाविहीन भएको तर्फ ध्यानाकर्षण गराए । उनले अगामी दिनमा तीन-चारजना महिला विज्ञ जानकार राख्न आयोजक संस्थालाई सुझाव दिए । लोकतन्त्रमा महिलाबिनाको समृद्धि र समावेशिता नदेखिने भन्दै उनले कार्यपत्र प्रस्तुत सुरु गरे ।
आयोजक संस्थाका अध्यक्ष अरविन्द महतोले भने 'विभिन्न कारण' महिला विज्ञ बोलाउन नसकिएको स्वीकार गरे ।
प्रथम राष्ट्रपति रामवरण यादव, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेशका सभामुख रामचन्द्र मण्डल, मुख्य न्यायधिवक्ता सुरेन्द्र महतो, पूर्वराजदूत लोकराज बराल, मधेश प्रदेश नीति आयोगका पूर्वउपाध्यक्ष भोगेन्द्र झा, नेपाल–भारत जानकार उद्धव प्याकुरेल र आयोजक संस्थाका अध्यक्ष अरविन्द महतोले मञ्चमा आसन ग्रहण गरेका थिए ।
