बिटौरी र गाउँब्लक जग्गाको लालपुर्जा माग्दै स्थानीय फेरि आन्दोलित

वैशाख ९, २०८२

विद्यानन्द राम

Locals protested again demanding red parts of Bitauri and village block land

राजविराज — बिटौरी र गाउँब्लक जग्गाको लालपुर्जा पाउनुपर्ने माग गर्दै सप्तरीको राजविराज नगरपालिकाका स्थानीयले फेरि आन्दोलन सुरु गरेका छन् । 

उनीहरुले मंगलबार गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्दै माग पूरा नभएकाले फेरि आन्दोलन गर्न बाध्य भएको बताएका छन् । 

आठ बुँदे माग राख्दै उनीहरुले गत फागुन १७ गते राजविराज बजार बन्द गराएका थिए । त्यसको भोलिपल्ट जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधीसमेत बसेको बैठकबाट माग सम्बोधनका लागि समिति बनाउने प्रतिबद्धता आएपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । 

तर, अहिलेसम्म कुनै पहल नभएको वार्ता समितिका संयोजक इरसाद अन्सारीले बताए । उनकाअनुसार बैशाख १८ गते घर–घर तथा पसल–पसलमा कालो झण्डा झुण्ड्याउने, १९ गते गजेन्द्र चोकमा मागको पक्षमा हस्ताक्षर संकलन गर्न अभियान सुरु गर्ने, २१ नापी कार्यालय राजविराज र २२ गते नगरपालिका कार्यालयमा १–१ घण्टा धर्ना दिनेछन् । 

उनीहरुले लालपुर्जासँगै राजविराज बसपार्क अविलम्ब सञ्चालन हुनुपर्ने, हटियाको व्यवसायिक कम्पलेक्सको निर्माण सुरु गर्नुपर्ने, खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी हुनुपर्नेलगायतका माग गरेका छन् । 

त्यस्तै, सीमानाकामा खाद्यान्न वस्तुको विषादी परीक्षणका लागि क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने, नगरक्षेत्रमा अविलम्ब लामखुट्टे विरुद्धको औषधि छर्कनुपर्ने र वर्षौंदेखि बन्द रहेका छोटी भन्सारहरु सुचारु हुनुपर्ने पनि माग राखेका छन् । 

उनीहरुकाअनुसार नगरक्षेत्रमा मुख्य सडक तथा भित्रि सडकको दायाँ–बायाँमा वर्षौंदेखि बसोबास गरिरहेका ५ हजार २ सय परिवारले लालपुर्जा नपाउँदा आवश्यकताको बेला बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण उठाउनबाट वञ्चित रहँदै आएका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully