पर्सा — सर्लाही लालबन्दीका प्रहृलाद अधिकारी २/३ महिनामा एक पटक यातायात व्यवस्था कार्यालय वीरगन्जमा गइरहन्छन् । झन्डै एक वर्षअघि सवारी चालक अनुमति पाएका उनले स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड लिनका लागि वीरगन्ज धाइरहनु परेको हो ।
हाल सप्तरीमा जागिरे उनले वीरगन्ज आउन आफू कार्यरत कार्यालयमा बिदा लिएर आउनु परेको बताउँछन् । तर प्रत्येक पटक निराश हुनु परेको छ । ‘स्मार्ट लाइसेन्स त दुर्लभै भयो,’ उनले भने, ‘यहाँ आउँदा प्रत्येक पटक निराश भएर फर्कनु परेको छ ।’
यातायात कार्यालयका कर्मचारीले आफ्नो लाइसेन्स अझै नछापिएको जवाफ मात्र दिने गरेको उनले बताए । ‘प्रत्येक पटक आउँदा तपाईंको लाइसेन्स अझै छापिएर आएको छैन भनी जवाफ पाइन्छ,’ उनले भने, ‘कस्तो लाइसेन्स हो जुन एक वर्षभित्र पनि छापिँदैन ।’
अधिकारी जस्ता थुप्रै सेवाग्राही यसरी दैनिक आफ्नो स्मार्ट लाइसेन्स खोज्दै यातायात व्यवस्था कार्यालमा आइपुग्छन् र निराश हुँदै फर्कन्छन् । ३ वर्षदेखि यसरी स्मार्ट लाइसेन्सको प्रतीक्षामा बसेका सेवाग्राही पनि छन् ।
कार्यालयका प्रमुख कुशेश्वर साह स्मार्ट लाइसेन्स केन्द्रबाट छापिएर नआएसम्म आफूहरुले केही गर्न नसक्ने बताउँछन् । ‘हामीले केबल लाइसेन्स दिने माध्यमको काम मात्र गर्ने हो,’ उनले भने, ‘छाप्ने काम विभागले गर्ने हो, त्यहाँ छापिने लाइसेन्सको चाप अत्यधिक भएकाले छापिएर नआएको हुन सक्छ ।’ सन् २०२२ देखि यसरी स्मार्ट लाइसेन्सको प्रतीक्षा गरेर सेवाग्राही बसेको उनले बताए ।
बेला बेलामा लाइसेन्स छाप्ने मेसिन बिग्रिने समेत गरेकाले छाप्ने प्रक्रियामा थप ढिलाइ हुने गरेको उनले बताए । आगामी आर्थिक वर्षदेखि प्रदेशमै यस्तो लाइसेन्स छाप्ने तयारी भइरहेकाले त्यसपछि स्मार्ट लाइसेन्स छपाइमा हालको जस्तो ढिलाइ नहुने साहले दाबी गरे । ‘प्रदेशमै छाप्न थालेपछि सम्भवतः अहिलेको जस्तो ढिलाइ नहुन सक्छ,’ उनले भने ।
