पर्सा — काठमाडौं केन्द्रित शिक्षक आन्दोलनबाट विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्साका १४ वटै पालिका प्रमुख एकमत भएका छन् ।
वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सन्चालन हुनुपर्नेमा शिक्षक आन्दोलनका कारण अभियान प्रभावित भएको छ । स्थानीय तहहरूले सोमबारदेखि वैशाख १५ गतेसम्म जिल्लाभर विद्यार्थी भर्ना अभियान संचालन गर्ने सहमति गरेका छन् ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा आइतबार भएको पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान चलाउन आ–आफ्ना पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
वीरगन्जका मेयर सिंहले संविधानले आधारभूत र माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियान कार्यक्रम घरघरमा पुग्ने गरी संचालन गराउन सबै पालिका प्रमुख एक भएको बताए । उनले जस्तोसुकै आपतविपत र संकटको अवस्थामा समेत विद्यार्थीको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरी कार्यान्वयन हुँदै आएको बताए ।
विद्यालय शान्ति क्षेत्र घोषणा गरेर त्यही अनुरूप कार्य हुँदै आएकामा यसको प्रमुख कार्यान्वयनकर्ता नै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको पनि उनको धारणा थियो । उनले आन्दोलनका कार्यक्रम परिमार्जन गरी विद्यालय संचालन हुने वातावरण बनाउन आग्रह गर्दै सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आउन नदिन सचेत गराएका थिए ।
बैठकमा जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख हरि राउतले ६० प्रतिशत बढी शिक्षक घरमै रहेकाले उनीहरू आफैं जिम्मेवार भएर विद्यालय संचालन गर्नुपर्ने बताए ।
बैठकमा सहभागी पर्सागढी नगर प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लागेर विद्यार्थी पठनपाठनबाट बन्चित भएको हेरेर बस्न उचित नभएको भन्दै तत्काल भर्ना अभियानलाई अघि बढाएर पठनपाठन सुरु गराउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
उनले शिक्षकहरूलाई आफ्ना माग राख्न पाउने अधिकार भए पनि पठनपाठन रोक्नु जायज नभएको बताउँदै आन्दोलनलाई रचनात्मक बनाउन आवश्यक रहेको औंल्याए । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले शिक्षकहरूले गरेका संविधानविपरीतका केही मागबाहेक आन्दोलनप्रति आफूहरूको समर्थन रहने बताए ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले शिक्षकको आन्दोलनका कारण विद्यार्थी पठनपाठनबाट बन्चित भए पनि अपजस आफूहरूलाई नै आउने भएकाले अहिले नै सचेत भएर विद्यालय संचालन गर्ने उपाय खोज्न आवश्यक रहेको बताए ।
बैठकमा पोखरीया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योतीदेवी चौरसियालगायत सहभागी थिए ।
