जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग

वैशाख ७, २०८२

कमलेश ठाकुर

Demand for a national holiday on Janaki Navami

जनकपुरधाम — जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग गरिएको छ । आइतबार रामानन्दीय वैष्णव संघले पत्रकार सम्मेलन आयोजना गरी सो माग गरेको हो ।

वैशाख २३ गते जानकी नवमी (जन्मोत्सव) रहेको छ । संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले सो दिन बिदाको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र समेत बुझाएका छन् । जानकी नवमीमा प्रदेश सरकारले बिदा दिँदै आएको छ । तर, जानकी (सीता) प्रदेशको मात्र नभई देश गौरवका रुपमा रहेको भन्दै राष्ट्रिय बिदा दिन माग गरेको संघका अध्यक्ष दासले बताए । 

‘राम नवमी प्रदेशको मात्र नभई देशको गौरव छ । यसलाई राष्ट्रिय पर्वको रुपमा मनाइनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय बिदा पनि दिइनुपर्छ ।’ जानकी नवमीमा राष्ट्रिय बिदा दिएर सरकारले त्यसलाई पर्यटकसँग जोड्नुपर्ने उनको तर्क छ । 

यस वर्ष ९ दिनसम्म जानकी नवमी मनाइने साधु समाजको तयारी छ । पहिलो दिन दूधमती नदीमा शाही स्नान गरी  रामायण पाठ र रामकथा सबै दिन गरिने महन्थ दासले जानकारी दिए । उनका अनुसार रामकथामा राम र सीताका बारेमा धार्मिक गुरुले चर्चा गर्नेछन् । मुख्य दिन जन्म आरती, सन्ध्या आरती र दीप प्रज्वलन गर्ने तालिका छ । जानकी नवमीको अवसरमा मठ मन्दिरले गोष्ठी पनि आयोजना गरी जानकी नवमी मनाउने तयारीमा छ । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully