असिनापानीले ५ करोड मूल्य बराबरको इँटामा क्षति

वैशाख ७, २०८२

शिव पुरी

Damage to bricks worth Rs 5 crore due to hailstorm

रौतहट — वैशाख १ को हावाहुरी र असिनापानीले रौतहटमा झन्डै ५ करोडको काँचो इँटा कामै नलाग्ने भएको छ । म्यानमा पकाउन तयार पारेको इँटामा क्षति पुगेको हो । गत वर्ष चैत ९ को असिनापानीमा पनि ४ करोडको क्षति भएको थियो । 

पोल्न तयार पारेको इँटा कामै नलाग्ने भएपछि व्यवसायी मारमा परेका छन् । जिल्लाभर सञ्चालनमा रहेका ४२ इँटा उद्योगमा असिनापानीले क्षति पुगेको इँटा उत्पादक संघ रौतहटका सचिव मोहन साहले बताए । ‘आर्थिक मन्दिले अधिकांश इँटा उद्योग बन्द हुँदै गएका छन् । प्राकृतिक प्रकोपले कहिले पनि छाडेन,' उनले भने, ‘यसरी क्षति हुँदै जाने हो भने अब उद्योग सञ्चालन गर्न सकिँदैन ।’

सचिव साहका अनुसार जिल्लाभरका ४२ इँटा उद्योगमा म्यानमा पोल्न राखेका झन्डै डेढ लाख काचो इँटामा असिनापानीले क्षति पुगेको छ । यसको मूल्य जोड्ने हो भने करिब ५ करोड पुग्ने उनले बताए ।

काचो इँटा असिनाले कामै नलाग्ने बनाएको इँटा व्यवसायी शेख असाबले बताए । ‘सग्लो इँटामा अलिकता पनि दाग लाग्यो भने पकाउने बेला राम्रो देखिँदैन, उनलेभने, ‘अहिले ग्राहकहरु राम्रो सफा इँटा खोज्छन् ।'

आर्थिक मन्दिका कारण इँटा बिक्री हुन छाडेपछि जिल्लाका अधिकांश उद्योगहरु बन्द हुन थालेका छन् । १६६ वटा भट्टामध्ये अहिले ४२ मात्र सञ्चालनमा रहेको संघका सचिव साहले जानकारी दिए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully