आगलागी न्यूनीकरणमा सशस्त्र प्रहरीको सचेतना अभियान

वैशाख ७, २०८२

सन्तोष सिंह

Armed Police Awareness Campaign on Fire Prevention

महोत्तरी — सशस्त्र प्रहरीले अगलागीको जोखिममा रहेका बस्तीमा सचेतना अभियान थालेको छ । नेपाल–भारत सिमानासँग जोडिएको गरिब, विपन्न तथा दलित बस्तीमा बर्सेनि आगलागीले हुने क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरीले महोत्तरीमा जनचेतनामुलक अभियान थालेको हो ।

सर्वसाधारणलाई आगो लाग्न नदिने उपायसँगै आगो सल्केपछि तत्काल नियन्त्रणमा लिएर निभाउन सक्ने विधि सिकाउन थालिएको छ । बर्सेनि आगलागीका घटना हुने फुसको छाप्रो भएको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीको मुस्लिम बस्तीका सर्वसाधारणलाई आगलागी हुन नदिन र घरमा आगो लागि सकेपछि नियन्त्रण गर्ने उपाय सशस्त्र प्रहरीले सिकाएको छ ।

१८औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वा महोत्तरीको टोलीले आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम अर्न्तगत उक्त अभियान थालेको हो ।  ०८१ बैशाख १२ गते अगालागी भएर बस्ती नै जलेको टोलमा सशस्त्र प्रहरीले घरघरमा अनिवार्य बाल्टीमा पानी राख्न, खाना पकाएपछि आगो निभाउन, घरमाथि रहेको विद्युत् तार हटाउन र पशु चौपायाका लागि बाल्ने आगो सुत्नुअघि पानी छर्केर निभाउन सजक गराएको छ । 

महोत्तरीमा मटिहानीसहित आगलागीको जोखिमा रहेको सीमा क्षेत्रको टोलमा गएर विपद व्यवस्थापन तालिम लिएका सशस्त्र प्रहरीले साप्ताहिक रुपमा जनचेतनामुलक कार्यक्रम गरिरहेको सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द्र भट्टले बताए ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully