राजविराज — सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी दलित किशोरी शंकास्पद अवस्थामा मंगलबार मृत भेटिएको घटनामा सप्तरी जिल्ला अदालत, बार एसोसिएशनअन्तर्गतका मानव अधिकार तथा जनसरोकार समितिले चासो लिएको छ ।
शनिबार समितिका संयोजक अधिवक्ता दिलिप चौधरीसहितका पदाधिकारीले पीडित परिवारसँग जानकारी लिएका छन् । संयोजक चौधरीले घटनाको निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिलाउनका लागि पहल गर्ने बताए ।
‘स्थलगत सबै कुरा बुझेर हामी प्रतिवेदन तयार पार्छौं र उक्त प्रतिवेदनमार्फत् प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवालालाई ध्यानाकर्षण गराउँछौं,’ उनले भने, ‘पीडित परिवारलाई न्याय दिलाउने हाम्रो पहल हो, सोहीअनुसार काम गर्न हामी यहाँ आएका छौं ।’
सोमबार राति भाइ विश्वजीतसँग घरमा सुतिरहेकी नागेन्द्र रामकी १८ वर्षीया छोरी पूजाकुमारी राम घरबाटै बेपत्ता भएकी थिइन् । खोजी गर्दै जाँदा घरदेखि एक किलोमिटर दक्षिण–पूर्वतर्फ तीनगछियाँ भन्ने ठाउँमा उनी शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् । घटनापछि उनकी आमा रामवतिले छोरीको हत्या भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यान सम्बन्धी कसुमा जाहेरी दिएकी छन् ।
सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनामा सूक्ष्म रुपले अनुसन्धान भइरहेको बताए । ‘धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम भइसके पनि भिसेरा परीक्षणको लागि पठाइएकोले अहिलेसम्म रिपोर्ट आइसकेको छैन,’ उनले भने, ‘हामी १५ जनासँग सोधपुछ गरिसकेका छौं, रिपोर्ट आएपछि थप स्पष्ट हुन्छ नै ।’
मृतक किशोरीमाथि तीन वर्षअघि बलात्कारको प्रयास भएको थियो । सो मुद्दामा सप्तरी जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ठाकुर थरका युवकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले बताए ।
मृतक किशोरीको परिवारसँग जानकारी लिँदै सप्तरी जिल्ला अदालत, बार एसोसिएशनअन्तर्गतका मानव अधिकार तथा जनसरोकार समितिका पदाधिकारी ।
