गौशाला–सम्सी सडकको नामकरण बदर गर्न माग

वैशाख ५, २०८२

सन्तोष सिंह

Demand to cancel the naming of Gaushala-Samsi road

महोत्तरी — गौशाला–सम्सी सडकको नामकरणपछि स्थानीयले विरोध गरेका छन् । गौशाला नगरपालिकाले हुलाकी सडक अर्न्तगतको सडकलाई हिउँदो अधिवेशनबाट 'गोरेबहादुर खपांगी मार्ग' राख्ने निर्णय गरेपछि स्थानीयले विरोध गरेका हुन् ।

गौशाला रोडले परिचित सडकको नयाँ नाम राखेर स्थानीय सरकारले समाजिक सदभाव बिगार्न खोजेको भन्दै तत्काल निर्णय बदर गर्न स्थानीयहरुले माग गरेका छन् । गौशला बजारमा युवाहरुले सांकेतिक रुपमा विरोध गर्दै नगरपालिकाले गरेको निर्णय बदर नभए सशक्त आन्दोलन गर्ने बताएका छन् ।

गौशाला नगरपालिकाले सडक नामकरण गरेको विरोध जनाउँदै लोसपाका स्थानीय नेता प्रमोद महतोले सडक नामकरण गरी स्थानीय सरकारले साम्प्रदायिक सद्भाव बिगार्न खोजेको आरोप लगाए । 'नयाँ सडक बनाएर नामकरण गर्न नसक्ने स्थानीय सरकारले संघीय सरकारले बनाएको सडकको नामकारण गरी विवाद मात्रै गर्न खोजेको छ,' नेता महतोले भने,‘गोरेबहादुर खपांगी सम्मानित व्यक्ति हो । तर, उहाँकै नाममा सडक नामकरण गर्ने अवस्था भने छैन । नगरपालिकाका जनप्रतिनिधिले आफ्नो भोट बढाउन कुनै व्यक्तिको नाममा राजमार्ग बनाउनु दु:खद् हो ।’ गौशला–सम्सी सडक खण्डको नामकरण तत्काल बदर गर्न उनले माग गरे ।

Demand to cancel the naming of Gaushala-Samsi road

सडक नामकरणको विरोधमा उत्रिएका गौशालाका अभियन्ता इन्दल राउतले स्थानीय सरकारले गौशला बजार र नगरपालिकाको पहिचान मेटाउन लागेको आरोप लगाए । गौशाला रोडले परिचित सडकको नामकरण कुनै व्यक्तिको नामले गर्नु गलत भएकोले तत्काल निर्णय सच्याउन राउतले माग गरे । 

स्थानीय युवाहरुले ठाउँ ठाउँमा 'गौशाला रोडको नाम परिवर्तन गर्न पाइँदैन', 'गौशाला–सम्सी सडक नै कायम गर', 'स्थानीय तहले नामकरण गरेको गोरेबहादुर खपांगी मार्ग खारेज गर' लगायतका नारा लेखेर विरोध गरेका छन् ।

गौशाला नगरपालिकाको चैत्र ३१ गते सम्पन्न १३ औं हिउँदे अधिवेशनबाट पूर्वपश्चिम राजमार्गको माइस्थानदेखि गौशाला हुँदै नेपाल–भारत सिमाना सम्सीसम्मको २६.५ किलोमिटर सडक खण्डको गौशालामा नगरपालिका क्षेत्रको सडकको गोरेबहादुर खपांगी मार्ग राख्ने निर्णय गरेको हो । महोत्तरी जिल्ला, गौशाला नगरपालिका वडा नं. १ मा पर्ने पूर्व पश्चिम महेन्द्र राजमार्गको गौशाला चौकदेखि दक्षिणतर्फ भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको कन्हमा भन्ने ठाउँसँग जोडिएको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully