दुई वर्षमा ११ जनाको मृत्यु, ३४ जना घाइते
जनकपुरधाम — जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने बसही पुल सात वर्षदेखि अलपत्र अवस्थामा छ। निर्माण कम्पनी सम्पर्कविहीन भएपछि पुल निर्माण कार्य रोकिएको हो।
दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सर्तमा सम्झौता गरेको नागार्जुन हेम कन्स्ट्रक्सन जेभी र राजु कन्स्ट्रक्सन अहिले सम्पर्कविहीन रहेको जटही–जनकपुर–ढल्केवर ६ लेन सडक कार्यालय बर्दिबासका इञ्जिनियर उज्ज्वल झाले जानकारी दिए। उनका अनुसार दुईपटक म्याद थप गरिए पनि भौतिक रूपमा हालसम्म जम्मा ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ। पछिल्ला ६ महिनादेखि त निर्माण कार्य पूर्ण रूपमा बन्द छ।
‘ठेक्का रद्द गर्ने तयारीमा छौं। निर्माण कम्पनी सम्पर्कविहीन छ, साइटमा पनि कुनै प्रतिनिधि भेटिँदैन,’ उनले भने, ‘अन्तिम स्पष्टीकरण मागिसकेका छौं, त्यसपछि निर्णयमा पुग्छौं।’
उनका अनुसार पटक–पटक पत्राचार गर्दा पनि काम सुरु नभएको, सम्पर्कमा नआएको र पठाइएको पत्रको जवाफसमेत नआएको हो।
कार्यालयले गएको चैत २९ गते ठेक्का किन नतोड्ने भन्ने सन्दर्भमा पत्र पठाएको थियो। तीन दिनभित्र लिखित जवाफसहित कार्यालयमा सम्पर्क गर्न भनिएको भए पनि हालसम्म कुनै जवाफ नआएको इञ्जिनियर झाले बताए।
साइट इञ्जिनियरको प्रतिवेदनपछि गएको फागुन २० गते कार्यालयले पुनः काम सुचारु गर्न पत्र पठाएको थियो। प्रतिवेदनमा साइटमा निर्माण कार्य ६ महिनादेखि बन्द रहेको र त्यहाँ निर्माण कम्पनीको अधिकृत प्रतिनिधि नरहेको उल्लेख गरिएको थियो।
त्यसअघि कार्यालयले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरेर सम्पर्कमा आउन र काम सुरु गर्न पनि आग्रह गरेको थियो। उक्त समय मौखिक रूपमा सम्पर्कमा आएर सहमति जनाए पनि काम भने सुरु नगरेको इञ्जिनियर झाले बताए।
‘०८१ सालको पुसदेखि अहिलेसम्म सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘हामीले व्यवस्थापक बैठकमा उपस्थित हुन पत्र पठाएका थियौँ, तर आएनन्।’
समय सकियो, काम सकिएन
२०७६ साल असार ३१ गते उक्त निर्माण कम्पनीसँग सम्झौता भएको थियो। २०७८ असार ३० गतेसम्म पुल निर्माण सक्नुपर्ने सर्त थियो। भ्याटसहित १४ करोड ८ लाख २ सय २३ रुपैयाँमा ठेक्का सम्झौता भएको हो। तर निर्माण सम्पन्न गर्नुपर्ने समयमा केवल जग हाल्ने काम मात्र गरिएको छ।
कोरोना महामारी र १३औं संशोधनका कारण दुईपटक म्याद थप गरिएको थियो। म्याद थपिसकेपछि ०८० असार ३० गतेसम्म काम सक्नुपर्ने थियो। तर हालसम्म जम्मा ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। ठेकेदार कम्पनीले यसबीचमा करिब २३ प्रतिशत भुक्तानी लिइसकेको इञ्जिनियर झाले जानकारी दिए।
‘करिब २३ प्रतिशत भुक्तानी भएको छ,’ उनले भने, ‘हामी त्यो रकम फिर्ता तान्न प्रयासरत छौं।’
दुई वर्षमा ११ जनाको ज्यान गयो
पुल निर्माण अलपत्र हुँदा वरिपरी दुई सय मिटरको क्षेत्र दुर्घटनाग्रस्त बनेको मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले बताए।
पटक–पटक पत्राचार गरे पनि वेवास्ता गरिएको र सडक जाम गरी प्रदर्शनसमेत गरिसकिएको उनले सुनाए।
स्थानीयको पीडा सबै निकायले वेवास्ता गरेको उनको आरोप छ।
दुई वर्षको अवधिमा सो क्षेत्रमा ४५ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख (इन्स्पेक्टर) हरिबहादुर ओलीले जानकारी दिए।
उनका अनुसार ती दुर्घटनामा परी ३४ जना घाइते र ११ जनाको मृत्यु भएको हो।
‘यो क्षेत्र दुर्घटना बहुल हो। तीव्र गतिका कारण अधिकांश दुर्घटना हुने गर्छ,’ उनले भने, ‘पुल निर्माण नजिक खाल्डो जस्तो सडक रहँदा दुर्घटना झन् बढी हुने गरेको हो।’
हाल ती खाल्डोहरू सडक डिभिजन कार्यालयसँग समन्वय गरी पुरिएको उनले जानकारी दिए।
