सिरहा — यौन दुर्व्यवहार घटनामा चार महिना भौतारिए पनि न्याय नपाएपछि आफ्नै घरमा मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदायको परिवार कानुनी प्रक्रियामा जान तयार हुन सकेका छैनन् । पीडित परिवारले असुरक्षित महसुस गर्दै घटनाका पीडक र घटना गाउँमै मिलाउने खोज्ने पीडकका आफन्त तथा प्रहरीविरुद्ध जाहेरी दिन तयार हुन नसकेका हुन् ।
यौन दुर्व्यवहारका आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव, ३२ वर्षीय श्यामसुन्दर यादव र घटना गाउँमै मिलाउन खोज्ने सञ्जीवका बुबा उपेन्द्र यादव, श्यामसुन्दरका बुबा शिवदत्त यादव, स्थानीय नरेन्द्र यादव तथा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक रवीनराज मैनाली र मुद्दा फाँटका प्रहरीविरुद्ध जाहेरी दिने विषयमा बिहीबार पीडित, दलितका अगुवा र कानुन व्यवसायीबीच छलफल भएको थियो ।
तर, सो क्रममा पीडित निकै डराएको पाइएको र उनीहरु कानुनी कारबाही प्रक्रियामा अगाडि बढ्न सकारात्मक नदेखिएको नेपाल राष्ट्रिय मुसहर संघका प्रवक्ता सुनिल सदाले बताए । ‘यो घटना अब यौन दुर्व्यवहारमा मात्रै सीमित छैन, कारबाही गर्नुभन्दा घटना मिलाउन प्रयास भएको छ, जसले पीडितलाई मृत्युवरण गर्न बाध्य बनाएको देखिन्छ,’ उनले भने, ‘यो घटनापछि पीडित परिवार झन् निराश छन्, डराएका छन् ।’
सदायको मृत्यु घटनापछि पीडित परिवारलाई डर–त्रास देखाउने, धम्की आउने क्रम झन् बढेको उनको भनाइ छ । ‘यो घटनामा यदि राम्ररी अनुसन्धान हुने हो भने प्रहरीका ठूला अधिकारीदेखि जिल्लाका नेता र केही स्थानीय पनि कारबाहीमा पर्छन्,’ उनले भने, ‘त्यसैले विभिन्न ढंगले पीडितलाई मानसिक तनाव दिन खोजिएको छ, रोक्न खोजिँदैछ ।’
यस्तो घटना भएपनि राज्यका निकाय र दलितका लागि काम गर्ने अन्य सरकारी तथा गैरसरकारी संघसंस्था अझै यसमा गम्भीर नदेखिँदा घटनाको तीन दिन हुँदासमेत अहिलेसम्म केही प्रगति हुन नसकेको गुनासो उनको छ । ‘राज्यको न्याय प्रणालीलाई नै यो घटनाले गिज्याएको छ, यस्तो बेला सबै सक्रिय हुनपर्ने हो,’ उनले भने, ‘हाम्रो एकल प्रयासले मात्र यो सम्भव हुने देखिएन ।’
सदाय गत मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि पुस ९ गते उनीमाथि गाउँकै आँप बगैंचामा सामूहिक बलात्कारको प्रयास भएको थियो । तर, सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिइए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो ।
प्रहरीले सुनुवाइ नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाइ महिनापछि फागुन २५ गते बल्ल उनकी जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भए पनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो । उनीहरू अझै पनि पक्राउ परेका छैनन् । चार महिनासम्म भौतारिँदा पनि न्याय नपाएपछि तनावमा रहँदै आएकी आनन्दी मृत भेटिएकी थिइन् ।
