सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदायको मृत्यु प्रकरणका विषयमा छानबिन समिति गठन भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा बुधबार नै तीन सदस्यीय छानबिन समिति गठन भएको र बिहीबारदेखि काम थालिसकिएको मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले जानकारी दिए ।
यो समितिले घटनाका अन्य पाटोसँगै मूलतः प्रहरीको गल्ती वा कमजोरी छ कि भन्ने कुरामा केन्द्रित रहेर छानबिन गर्ने डीआईजी आचार्यले जानकारी दिए । ‘यसमा प्रहरीको कमजोरी छ भन्ने कुरा आएको छ, मुद्दा दर्ता गर्न समय लगाएको कुराहरु आएका छन्,’ उनले भने, ‘यो समिति मूलतः यसैमाथि केन्द्रित हुन्छ ।’
छानबिन समितिले प्रतिवेदनमा औंल्याउने तथ्यका आधारमा अगाडि बढ्ने उनको भनाइ छ । ‘समितिले प्रतिवेदन बुझाएपछि हामी अध्ययन गर्छौं,’ उनले भने, ‘यदि प्रहरीको बदमासी हो भने कारबाही हुन्छ ।’
सदाय मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि पुस ९ मा उनीमाथि गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले सामूहिक बलात्कारको प्रयास गरेका थिए ।
तर, सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिएपनि आरोपित पक्ष र प्रहरीले पनि पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो । प्रहरीले सुनुवाइ नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाइ महिनापछि फागुन २५ मा बल्ल उनको जाहेरी दर्ता भएको थियो ।
तर, मुद्दा दर्ता भएपनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो । आरोपितहरु अझै पनि पक्राउ परेका छैनन् ।
