बरहथवाका ११ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

वैशाख ४, २०८२

अजित तिवारी

Chief Minister's directive to close 11 hospitals in Barathwa

जनकपुर — सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतीशकुमार सिंहले बन्द गर्न निर्देशन दिएका छन्। सेवा सञ्चालन अनुमति नलिएका, मापदण्डअनुसारका भौतिक संरचना नभएका, जनशक्ति व्यवस्थापन, उपकरण–औजार तथा औषधिजस्ता कुराको उचित व्यवस्था नगरेका ११ अस्पतालमा मुख्यमन्त्री सिंहले ताला लगाउन निर्देशन दिएका हुन्।

बन्द गर्न निर्देशन दिइएका स्वास्थ्य संस्थामा संकटमोचन हेल्थ केयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैप्पीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन्।

बुधबार राति बरहथवास्थित स्वास्थ्य संस्थाको अनुगमनक्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधान विपरीत सेवा सञ्चालन गरिरहेका, नवीकरण नगराएका तथा मापदण्ड विपरीत सञ्चालनमा रहेका ती अस्पतालहरूलाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।

बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुनअनुसार सेवा सञ्चालन अनुमति लिएर, नवीकरण गराएर र मापदण्ड पूरा गरेपछि मात्र सञ्चालन गर्न सकिने स्पष्ट लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए।

मुख्यमन्त्री सिंहले पछिल्लो समय मधेशमा बग्रेल्ती खुलेका निजी स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा ल्याउने अभियान नै थालेका हुन्।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully