आत्महत्या दुरुत्साहन र मिलापत्र लेनदेन शीर्षकमा जाहेरी दिने विषयमा पीडित, दलितका अगुवा र कानुन व्यवसायीबीच छलफल हुँदै
सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदायको यौन दुर्व्यवहार र मृत्यु प्रकरणमा आरोपित र घटना मिलाउन खोज्ने स्थानीयसहित प्रहरीविरुद्ध जाहेरी दिने तयारी गरिएको छ।
यौन दुर्व्यवहारका आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव, ३२ वर्षीय श्यामसुन्दर यादव र घटना गाउँमै मिलाउन खोज्ने दुवै आरोपितका बुवा, स्थानीय तथा प्रहरीविरुद्ध पनि जाहेरी दिने तयारी पीडित परिवारले गरेको हो। यौन दुर्व्यवहारका दुवै आरोपितमाथि जबरजस्ती करणी उद्योगमा प्रहरीमा मुद्दा दर्ता भइसकेको छ।
अब आरोपितसहित घटना गाउँमै मिलाउन खोज्ने सञ्जीवका बुवा उपेन्द्र यादव, श्यामसुन्दरका बुवा शिवदत्त यादव, स्थानीय नरेन्द्र यादव तथा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनाली र मुद्दा फाँटका प्रहरीविरुद्ध थप दुई शीर्षकमा जाहेरी दिने तयारी भइरहेको हो।
नेपाल राष्ट्रिय मुसहर संघका प्रवक्ता सुनिल सदाका अनुसार, उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहन तथा मिलापत्र लेनदेन शीर्षकमा जाहेरी दिने विषयमा पीडित र दलितका अगुवाबीच आसपमा छलफल भइरहेको छ। छलफलपछि आफूहरू कानुनी प्रक्रियामा अघि बढ्ने उनले बताए।
‘यो घटना अब यौन दुर्व्यवहार मात्रै रहेन, पीडितलाई मृत्युवरण गर्न बाध्य बनाइएको छ,’ उनले कान्तिपुरसित भने, ‘हामीले पीडित परिवारसँग अनि कानुन व्यवसायीसँग पनि छलफल गरिरहेका छौँ, त्यसपछि हामी अगाडि बढ्छौँ।’
आनन्दी मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। त्यसअघि पुस ९ गते उनीमाथि गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले सामूहिक बलात्कारको प्रयास गरेका थिए।
तर, सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिइए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो। प्रहरीले सुनुवाइ नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाइ महिनापछि फागुन २५ गते बल्ल उनकी जाहेरी दर्ता भएको थियो।
तर, मुद्दा दर्ता भए पनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो। उनीहरू अझै पनि पक्राउ परेका छैनन्। चार महिनासम्म भौतारिँदा पनि न्याय नपाएपछि तनावमा रहँदै आएकी आनन्दी मृत भेटिएकी थिइन्।
