‘कान्तिपुर समाचार प्रभाव’ : भारतीयले खन्न लागेको ‘पाइलट च्यानल’को काममा रोक लगाइयो

वैशाख ३, २०८२

विद्यानन्द राम

'Kantipur news effect': The work of the 'Pilot Channel', which was going to be dug by the Indians, was stopped

सप्तरी — कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ धकेल्न भारतीय पक्षले बनाउन लागेको ‘पाइलट च्यानल’को काममा रोक लगाइएको छ । कान्तिपुरमा समाचार प्रकाशित भएपछि बुधबार ‘पाइलट च्यानल’ निर्माणस्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेतृत्वको टोलीले सो कार्यमा रोक लगाएको हो ।

‘गुनासो आउन थालेपछि हामी पाइलट च्यानल निर्माणस्थलमा पुगेका थियौं र कार्य अघि नबढाउन भनिसकेका छौं,’ प्रजिअ भोला दाहालले भने, ‘दुवैतर्फ (भारत–नेपाल)का प्राविधिकलाई राखेर हामी छलफलमा बस्छौं, अनि निष्कर्षमा पुगेर मात्रै अघि बढ्छौं ।’

भारतीय पक्षले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ टिकुलियाँस्थित नदीमा गत चैत १३ गते खन्न लागेको ‘पाइलट च्यानल’का कारण यहाँको टिकुलियाँ, बनरझुला, डल्बा, रम्पुरा लगायतका आधा दर्जन बस्ती बाढीको उच्च जोखिममा पर्ने खतरा बढाएको छ ।

टोलीमा प्रजिअ दाहालसहित तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सुरेन्द्र कोइराला लगायतका थिए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully