वीरगन्जमा निषेधाज्ञा उल्लंघन गर्दै पुन: प्रदर्शन

वैशाख ३, २०८२

शंकर आचार्य

Demonstration again in violation of prohibition in Birganj

पर्सा — हनुमान जयन्तीको शोभायात्राका क्रममा शनिबार वीरगन्जमा गरिएको तोडफोडको आरोपमा पक्राउ परेका दुई जनाको रिहाइको मागसहित केही युवाहरुले बुधबार बिहान फेरि प्रदर्शन गरेका छन् ।

धार्मिक सद्भाव बिथोल्ने र तोडफोडको आरोपमा मंगलबार पर्सा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई जना निर्दोष रहेको भन्दै अविलम्ब रिहाइको माग गर्दै युवाहरुले बुधबार वीरगन्जको परवानीपुर, प्रतिमा चोक, घडिअर्वा चोक, नेसनल ट्रेडिङ अगाडि लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् । 

घटनापछि पर्सा प्रहरीले क्षेत्रको सुरक्षालाई कडा बनाएको छ । भेला, प्रदर्शन आदि हुन नपाउने गरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको उल्लंघन गरी मंगलबार साँझ र बुधबार पनि वीरगन्जमा लगातार दोस्रो दिन प्रदर्शन गरिएको हो । 

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्न खोज्नेहरुलाई प्रहरीले लाठी चार्ज गरेको थियो । त्यहाँबाट उनीहरुले घण्टाघर, आदर्शनगर चोक क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । 

प्रहरीले शनिबारको घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई मंगलबार पक्राउ गरेको थियो । प्रहरी उपरीक्षक गौतम मिश्रले सर्वदलीय सर्वपक्षीय बैठकमा भएको पाँच बुँदे सहमति अनुसार नै घटनामा दोषी पाइएका ४ जनालाई पक्राउ गरिएको बताएका छन् । 

पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले बुधबार पनि शनिबारको घटनामा संलग्न रहेको आरोपमा थप एक जनालाई नियन्त्रणमा लिइएको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिहान ११ बजेदेखि प्रदर्शनकारी युवाका अगुवाहरुसँग छलफल सुरु गरिएको बताए । अहिले पनि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुख तथा प्रदर्शनकारीका अगुवाबीच छलफल जारी रहेको छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully