असई थमन विक हत्या प्रकरण : पटक-पटक स्थगित हुँदै आएको निलम्बित सांसद शर्माको पेशी आज

वैशाख ३, २०८२

कमलेश ठाकुर

Asai Thaman Vick murder case: The appearance of the suspended MP Sharma, which has been postponed several times, today

जनकपुरधाम — सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणको मुद्दा आज पुन: पेशी चढेको छ । उच्च अदालत जनकपुरको ३ नम्बर इजलासमा बुधबार (आज) सो मुद्दाको पेशी राखिएको हो । 

न्यायाधीशद्वय नरिश्‍वर भण्डारी र जगदीश घिमिरेको इजलासमा सुनुवाइ हुनेछ । मधेस प्रदेशका निलम्बित सांसद अभिराम शर्मासमेत प्रतिवादी रहेको यो मुद्दा पटक-पटक स्थगित हुँदै आएको छ । 

आज १८ औं पेशी रहेको यस मुद्दाको ९ पटक पेशी स्थगित, ४ पटक हेर्न नभ्याइने र ४ पटक आदेश भएको छ । 

दोस्रो कार्यकालका लागि शर्मा प्रदेश सांसद हुँदा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि प्रदेशसभाले उनलाई गत वर्षको बैशाख १८ गते निलम्बन गरेको थियो । 

शर्मा, जलेश्वर नगरपालिकाकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको प्रतिवादी छन् । हाल फरार सूचीमा रहेका शर्माका बुवा महेन्द्र शर्मा गत वैशाख ९ गते, मिश्रको हकमा उनकी श्रीमती संगीता कुमारी शर्माले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए ।

यस्तै बैशाख १० गते पाण्डेको हकमा उनकी छोरी प्रियंका पाण्डे र रायको हकमा उनका दाई अरविन्द कुमार रायले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए ।

जेठ ९ गतेको पेशीमा न्यायाधीश बलभद्र बास्तोला र नरबहादुर खड्काको इजलासले सबै मुद्दालाई एकैसाथ अघि बढाउने आदेश गरेको थियो । त्यसयता तोकिएको पेशी पटक–पटक स्थगित र हेर्न नभ्याइने हुँदै आएको छ ।

दोस्रो मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा असई विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो । सो प्रकरणमा २०७२ फागुन २७ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता भएको थियो।

२०८० मंसिर २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully