असई थमन विक हत्या प्रकरण : अडियो जाँच्ने विशेषज्ञलाई बोलाउन आदेश

वैशाख ३, २०८२

कमलेश ठाकुर

Asai Thaman Vick murder case: Order to call expert to examine audio

जनकपुर — सशस्त्र प्रहरीको सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा फोन कलको अडियो जाँच्ने विशेषज्ञलाई बोलाउन आदेश भएको छ । बुधबार उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय नरिश्वर भण्डारी र जगदीश घिमिरेको इजलासले सो आदेश दिएको हो ।

उच्च अदालत जनकपुरका उपरजिस्ट्रार सुशील यादवका अनुसार विगतमा पनि प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोबाट दुई जना विशेषज्ञलाई बोलाउने आदेश भएको थियो ।

साइबर ब्युरोका विशेषज्ञ आनन्द निरौला र दक्षेपी शेर्पालाई बोलाउने आदेश भएको थियो । जसमध्ये शेर्पाको बकपत्र भए पनि निरौला तालिमको सिलसिलामा कोरिया हुँदा बकपत्र भएको थिएनन् । निरौला र शेर्पा असई विक हत्याका आरोपीहरूको मोबाइल फोनको अडियो जाँच परीक्षण गरेका थिए । सोही विषयमा थप प्रकाश पार्नको लागि निरौलालाई बोलाउने आदेश भएको छ ।

मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्मासमेत प्रतिवादी रहेको यो मुद्दा गएको वैशाख १ गते देखि उच्च अदालतमा चलिरहेको छ । दोस्रो कार्यकाल शर्मा प्रदेश सांसद हुँदा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि प्रदेशसभाले उनलाई गएको वैशाख १८ गते निलम्बन गरेको थियो । शर्मा, जलेश्वर नगरपालिकाकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको प्रतिवादी छन् ।

दोस्रो मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा एम्बुलेन्सबाट थुतेर असई विकको  हत्या भएको थियो । सो प्रकरणमा २०७२ फागुन २७ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता भएको थियो । महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully