आनन्दी सदाय मृत्यु प्रकरण : शव बुझ्न परिवारलाई प्रहरीको दबाब

प्रहरी भन्छ : 'हामी घटनाबारे बुझ्न गएका हौं'

वैशाख ३, २०८२

विनय आजाद

Anandi Saday death case: Police pressure on the family to identify the body

सिरहा — यौन दुर्व्यवहार घटनापछि न्याय नपाउँदा मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका-३ दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदायको शव बुझ्न परिवारलाई प्रहरीले दबाब दिएको छ ।

आनन्दी मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीले परीक्षणका लागि शव लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । तर, पीडित परिवारले शव बुझेका छैनन् ।

घटनाका दोषी तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आलटाल गर्ने प्रहरीमाथि छानबिन र कारबाही हुनुपर्ने माग पीडित परिवार तथा दलितका अगुवाहरूको छ ।

शव बुझ्न नमानेपछि सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा, इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रहरी निरीक्षक रविनराज मैनालीलगायतका प्रहरी अधिकारी बुधबार बिहान पीडितको घरमै पुगेका थिए ।

उनीहरूले आफूलाई प्रहरीकै गाडीमा हिँड्न र अस्पताल गएर शव बुझ्न दबाब दिएको आनन्दीकी आमा बिल्टौन सदायले बताइन् । 'उहाँहरूले सँगै गाडीमा हिँड्न र शव बुझ्न भन्नुभयो,' उनले भनिन्, 'तर, यसमा संलग्नलाई कारबाहीको ठोस प्रतिवद्धता आउनुपर्छ ।'

Anandi Saday death case: Police pressure on the family to identify the body

तर, सिरहाका प्रहरी प्रमुख शर्माले यो कुरा गलत भएको दाबी गरेका छन् । 'त्यस्तो कुरा होइन, हामी घटनाबारे बुझ्न गएका हौं,' उनले कान्तिपुरसित भने, 'आज अलि गर्मी छ, भोलिसम्म बुझ्नुहुन्छ होला ।'

आनन्दीमाथि पुस ९ मा गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले सामूहिक बलात्कारको प्रयास गरेका थिए । तर, पीडितले सोही दिन जाहेरी दिए पनि प्रहरीले उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाउनुको साटो उल्टै मिलिहाल्न दबाब दिँदै आएको थियो ।

प्रहरीले सुनुवाइ नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाइ महिनापछि फागुन २५ मा बल्ल उनको जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भएपनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully