राजविराज — सप्तरीको सुरुङ्गा नगरपालिका–७ रामटोलकी एक युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छन् । मंगलबार नागेन्द्र रामकी २० वर्षीया छोरी पूजाकुमारी शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।
घरदेखि करिब एक किलोमिटर दक्षिण–पूर्वतर्फ शंकास्पद अवस्थामा पूजाको शव फेला परेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरले सूक्ष्म अनुसन्धान अघि बढाएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ‘शंकास्पद अवस्थामा शव फेला परेपछि हामीले तालिम प्राप्त कुकुरको सहायताले सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएका छौं,’ उनले भने, ‘थप पोस्टमार्टम रिपोर्ट आएपछि स्पष्ट हुन्छ ।’
पूजाकी आमा रामवतीदेवी अष्टयाम हेर्न गएपछि सोमबार राति उनी आफ्नो भाइ विश्वजितसँग घरमा सुतिरहेकी थिइन् । यत्तिकैमा बेपत्ता भएकी पूजाको खोजी गर्दा बिहान शव फेला परेको हो ।
