हावाहुरीले घर क्षतिग्रस्त, बिचल्लीमा मुसहर परिवार

वैशाख २, २०८२

विनय आजाद

House damaged by wind, Musahar family in trouble

सिरहा — सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महदेवामा सोमबार राति आएको हावाहुरीले एक मुसहर परिवारको घर क्षतिग्रस्त बनाएको छ। हावाहुरीका कारण स्थानीय फुदुरदेवी सदाको घर क्षतिग्रस्त बनेको हो।

गाउँकै सार्वजनिक पोखरीको डिलमा ऐलानी जग्गामा रहेको उनको घरमाथि हालिएको टिनको छानो नै हावाहुरीले उडाइदिएको छ, जसका कारण यो परिवार अहिले बिचल्लीमा परेको छ। फुदुरदेवी एकल महिला हुन्।

उनका दुई छोरा छन्, जो रोजगारीको सिलसिलामा भारतमा बस्छन्। अहिले यो घरमा ४३ वर्षीया फुदुरदेवी र उनकी एक छोरी बस्दै आएकी थिइन्। हुरीले घर उडाएपछि छिमेकीको घरमा आश्रय लिएर रात बिताएको उनले सुनाइन्।

तर मंगलबारदेखि कसरी र कहाँ बस्ने भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ। 'हामी घरमै थियौँ, एक्कासी हावा चल्यो, घर भत्कायो,' फुदुरदेवीले कान्तिपुरलाई सुनाइन्, 'राति छिमेकीसँग आश्रय माग्यौँ, तर अब कसरी कहाँ बस्ने भन्ने चिन्तामा छु।'

यो घर तीन वर्षअघि छोराकै कमाइबाट ४५ हजार रुपैयाँ खर्चेर बनाएको फुदुरदेवीले बताइन्। तर अहिले घर मर्मत गर्नका लागि आफूसँग पैसा नभएको उनको भनाइ छ। 'घर त नभई नहुने कुरा हो,' उनले भनिन्, 'तर हातमा पैसा छैन, उल्टै ऋण छ।'

मिर्चैया नगरपालिकाका न्यायिक समितिका सदस्य तथा वडा सदस्य संजय साहले बस्ने घर नै नरहेपछि अहिले यो परिवार अप्ठ्यारोमा परेको बताए। 'यो परिवारमाथि बज्रपात नै भयो,' उनले भने, 'राहतका लागि म पालिकातिर पनि पहल गर्छु।'

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully