वीरगन्ज — पर्साका सुरक्षा निकायले ३७ बिघा चार कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आवको चैत २५ गतेसम्मको अवधिमा एक लाख ३३ हजार चार सय ७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो ।
पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा साझेदारी वन अतिक्रमण गरेर गाँजाखेती हुने सूचनाको आधारमा निरन्तर रूपमा गाँजाको बोटको फँडानी गरेर नष्ट गर्दै आइरहेको बताए । 'नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको सहकार्यमा गाँजाको फँडानी गर्दै आइरहेका छौ,' उनले भने ।
पर्सा प्रहरीका अनुसार तीन वर्षको अवधिमा गाँजा बरामद हुने क्रममा पनि वृद्धि भएको छ । प्रहरीले २०७९/८० मा एक हजार एक सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो । त्यस्तै २०८०/८१ मा चार सय ६७ किलोग्राम र २०८१/८२ को फागुन मसान्तसम्मको अवधिमा एक हजार ५३१ किलोग्राम गाँजा बरामद गरेको छ ।
मकवानपुर तथा तराईका अन्य जिल्लाबाट ल्याएको गाँजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गर्छ ।
