रौतहट — राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बेलबिछवा नाकाबाट शनिबार रात सशसस्त्र प्रहरीले गाजा र हतियारसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
भारत बिहार सीतामढी जिल्ला बैरगनिया थाना क्षेत्रअन्तर्गत ग्राम पञ्चायत नन्दबारा गाउँका २३ वर्षीय किशन कुमारलाई पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोषकुमार बस्नेतले जानकारी दिए ।
राति करिब साढे ९ बजे लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसलअगाडि मदिरा सेवन गरी झगडा गरेको सूचना पाएर पुगेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट लक्ष्मीपुरको गस्ती टोलीले पेस्तोलसहित भारतीय नागरिक किशनलाई पक्राउ गरेको हो ।
किशनको साथबाट एकथान अटोमेटिक पेस्तोल, प्रतिबन्धित लागूऔषध कोरेक्स सिरप ३ थान, नाइट्रोभेट ५ ट्याब्लेट र एउटा मोबाइल बरामद भएको एसपी बस्नेतले जानकारी दिए । पक्राउ परेका भारतीय किशनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी कार्यालय, गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
