वीरगन्जमा हट्यो कर्फ्यु

वैशाख १, २०८२

शंकर आचार्य

Curfew lifted in Birganj

पर्सा — वीरगन्जमा शनिबार झडप भएपछि लगाइएको कर्फ्यु आइतबार राति १२ बजेदेखि हटाइएको छ । हनुमान जयन्तीको शोभायात्राका क्रममा शनिबार वीरगन्जको छपकैया क्षेत्रमा दुई समूहबीच तनाव भएपछि स्थानीय प्रशासनले शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यु लगाएको थियो । सर्वपक्षीय बैठकले पाँचबुँदे सहमति गरेपछि कर्फ्यु हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा घटनामा संलग्नमथि बिस्तृत छानबिन गरी कारबाही गर्ने, अन्तरधार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारवाही प्रक्रियामा सहयोग पुर्‍याउने, घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने र भौतिक सम्पत्ति नष्टमा क्षतिपूर्तीका लागि प्रशासनले पहल गर्ने सहमति भएको छ । 

धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने जात्रा, पर्व जस्ता कार्यक्रममा हतियार प्रदर्शन नगर्ने सहमति पनि गरिएको छ । जिल्लामा संचालित सबै धार्मिक संस्था र ती संस्थाबाट संचालित विद्यालय/मदरसालगायतको अनुगमन गरी अन्यथा देखिए कारवाहीको दायरामा ल्याउने निर्णय समेत गरिएको छ ।

बैठकमा कांग्रेसका कार्यवाहक जिल्ला अध्यक्ष रामनारायण कुर्मी, एमाले जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, माओवादी जिल्ला अध्यक्ष विजय महतो, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, जसपाका तवरेज अहमद, आम जनता पार्टीका जिल्ला अध्यक्ष भोला पटेल, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफलगायतका सहभागी थिए । 

शोभायात्रा आयोजक तर्फबाट रन्जित साह, दीपक पटेल, अभिषेक तिवारीलगायत सहभागी थिए । सुरक्षा निकायबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरीका पर्सा प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धानका एसपी दिलीप सिंह, नेपाली सेनाका कर्नेल निराजन कटुवाल सहभागी थिए । त्यसअघि आइतबार बिहान सर्वदलीय बैठकले तीन बुँदे प्रतिबद्धता जाहेर गर्दै सद्भाव कायम गर्न अपिल गरेको थियो ।

झडपका क्रममा सुरक्षाकर्मी र सर्वसाधारण गरी ४१ जना घाइते भएका थिए । उनीहरु सबै अस्पतालबाट डिस्चार्ज भइसकेको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए । झडपका क्रममा छपकैया क्षेत्रमा एउटा पसल पूर्णरुपमा र अर्को एक पसलमा आंशिक क्षति भएको थियो । चार मोटरसाइकल जलाइएको थियो भने चार मोटरसाइकलमा आंशिक क्षति पुगेको थियो । कर्फ्यु उल्लंघन गरेको आरोपमा आइतबार नियन्त्रणमा लिइएका ८५ जनालाई आइतबार साँझ नै आफन्तको जिम्मामा छाडिएको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully