स्थानीयको विरोधकै बीच मिश्रको सालिक निर्माणको काम धमाधम

चैत्र ३१, २०८१

कमलेश ठाकुर

Amidst the opposition of the local people, the construction work of Mishra's Salik is in full swing

जनकपुरधाम — स्वर्गीय नेता रामनारायण मिश्रको सालिक निर्माण स्थललाई लिएर विरोध सुरु भएको छ । जनकपुरधामको गंगा सागरपूर्व डिलमा निर्माण भइरहेको सालिकको बजरंग युवा क्लबको अगुवाइमा विरोध भएको हो ।

रामनारायण मिश्र स्मृति स्मारक समितिले मधेश प्रदेश सरकारको ५ करोड ७४ लाख ९६ हजार सहयोगमा सालिक निर्माण गरिरहेको छ । तर, सालिक निर्माणले ऐतिहासिक संरचना मास्ने भन्दै स्थानीयले विरोध गर्दै धर्नासमेत दिएका छन् । निर्माणस्थल छेउमै स्थानीय धर्नामा बसेका छन् । तर, काम पनि धमाधम भइरहेको छ ।

कानुनविपरीत सालिक निर्माण भइरहेकाले विरोध गरेको स्थानीय तथा एमाले नेता शिवशंकर साहले बताए । उनका अनुसार पोखरीको डिलभन्दा १० मिटर छाडेर कुनै पनि संरचना बनाउनुपर्ने प्रावधान छ । तर, पोखरीको डिल र वर्षौंदेखि सञ्चालनमा रहेको सडक अतिक्रमण गरी सालिक निर्माण भइरहेकाले विरोध गरिएको हो । ‘योग्य व्यक्तिको सालिक बनाउनुपर्छ, यसमा कुनै विरोध होइन,’ उनले भने, ‘तर, ठाउँ उपयुक्त भएन । यो एतिहासिक ठाउँ मासेर सालिक निर्माण हुनुभएन । गंगासागरलाई कुरूप बनाउने काम हामीलाई सैह्य छैन ।’Amidst the opposition of the local people, the construction work of Mishra's Salik is in full swing

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले निर्माण कार्य नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले वैकल्पिक र उपयुक्त ठाउँमा सालिक निर्माण गर्न सरकारलाई सुझाव दिएको पनि बताए । ‘सर्वपक्षीय बैठक गरेर निर्णय गरौं । उहाँको धेरै योगदान छ, उहाँका नाममा अझ शैक्षिक संस्थान र अस्पतालहरू नै बन्नुपर्छ,’ उनले भने, ‘तर उपयुक्त ठाउँमा बनाऔं । यो ठाउँ उपयुक्त छैन ।’ सालिकका नाममा एतिहासिक धरोहर पोखरी मास्ने काम भइरहेको उनले बताए ।

व्यक्तिको नाममा रहेको जग्गालाई रामनारायण मिश्र स्मृति स्मारक समितिका नाममा नामसारी गरेर ०७९ सालमा जनकपुरधाम उपमहानगरपालिकाबाट नक्सापास गराइएको थियो । दुई वर्षअघि सम्झौता भए पनि स्थानीयको विरोधका कारण गत वर्ष काम हुन सकेको थिएन ।

पूर्वाधार विकास कार्यालय धनुषाकी इन्जिनियर सुम्मी मिश्रले साढे दुई तल्ले भवन बनिरहेको जानकारी दिइन् । कर्मा बाबा जेभी निर्माण कम्पनीले निर्माण गरिरहेको छ । ०८२ फागुन २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि तोकिएको छ ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully