वीरगन्जमा कर्फ्यु  उल्लंघन गर्ने  ८५ जनालाई  छाडियो  

चैत्र ३१, २०८१

शंकर आचार्य

85 curfew violators were released in Birganj

पर्सा — शनिबारदेखि तनावग्रस्त वीरगन्जमा लगाइएको कर्फ्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार बिहान ११ बजे सूचनामार्फत शनिबार बेलुका ६:३० देखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि जारी गरेको कर्फ्युलाई आइतबार राति १२ बजे सम्मका लागि निरन्तरता दिएको जनाएका छन् । 

आइतबार दिन भरी कर्फ्यु उल्लंघन गरेका ८५ जनालाई वीरगन्जको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको र उनीहरूलाई साँझ आफन्त बोलाएर अबदेखि कर्फ्यु उल्लघंन नगर्ने सर्तमा आफन्तको जिम्मा लगाएर छोडिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले बताए । 

वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर पावरहाउस चोक र दक्षिण शंकराचार्य गेटभित्रको क्षेत्रमा मात्र कर्फ्यु लगाइएको छ । शनिबार जारी गरिएको कर्फ्यु आदेशमा उत्तरमा गण्डक चोक कायम गरिएकोमा आइतबार त्यसलाई छोट्याएर पावरहाउस चोक बनाइएको हो । 

हनुमान जयन्तीको शोभायात्राको क्रममा शनिबार वीरगन्जको छपकैया क्षेत्रमा तनाव भएको थियो । त्यस क्रममा नेपाल प्रहरीले ११ राउन्ड हवाई फायर र ७४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । सशस्त्र प्रहरीले ७४ राउण्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।  

झडपमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक गौतम मिश्र सहित १२, सशस्त्र प्रहरीका डीएसपी देवेन्द्रबहादुर सिंह सहित १६ र सर्वसाधारण १३ गरी ४१ जना घाइते भएको डीएसपी लम्सालले जानकारी दिए । घाइते सबै अस्पतालबाट डिस्चार्ज भइसकेको उनले बताए । 

झडपको क्रममा छपकैया क्षेत्रमा एउटा पसल पूर्ण रूपमा र अर्को आंशिक क्षति भएको छ । ४ वटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन । ४ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । सेफर वीरगन्जका केही सीसीटीभी क्यामेरा पनि क्षतिग्रस्त भएका छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully