तीन दिनपछि आज साँझ गरियो दाहसंस्कार
बारा — वीरगन्जको कृष्णा अस्पताल र मृतक ५० वर्षीय रणबहादुर राम चमारको परिवारबीच अस्पतालले मागेको उपचार खर्चमा सहमति भएपछि तीन दिनपछि शव बुझेका छन् । मृतक रणबहादुरका छोराले अस्पताललाई नगद र चेक बुझाएपछि उनको ३ दिनपछि साँझ दाहसंस्कार गरिएको छ । अस्पतालले मागेअनुसारको उपचार खर्च नबुझाउँदा मृतक परिवारले तीन दिनदेखि शव बुझ्न पाएका थिएनन् ।
कलैया उपमहानगरपालिका–२ अवधापुरका रणबहादुरको शव उनका छोरा विश्वास रामले ५० हजार नगद र बाँकी १ लाख ३० हजार बराबरको रकम साथीसँग मागेर ब्ल्यांक चेकबाट कटाउन भनि अस्पताल प्रशासनलाई बुझाएपछि बल्ल शव प्राप्त गरेका हुन् ।
पहिला ३ लाख ४१ हजार उपचार खर्च मागेकोमा १ लाख ८० हजारमा सहमति भएको उनका छोरा विश्वास रामले बताए ।
रणबहादुरको शव तीन दिनदेखि नारायणी अस्पतालको शव गृहमा रहेको थियो । विष सेवन गरेका उनको वीरगन्जस्थित कृष्णा अस्पतालमा चैत २८ मा साँझ उपचारकै क्रममा मृत्यु भएपछि उक्त अस्पतालले उनको शव नारायणी अस्पतालको शव गृहमा पठाएको थियो । उक्त अस्पतालमा गत चैत १२ गते उनलाई आफन्तले उपचारका लागि भर्ना गरेको थियो । उपचारकै क्रममा १७औं दिनमा चैत २८ मा उनकोको मृत्यु भएको थियो ।
कृष्णा अस्पताल प्रशासनले साढे तीन लाख उपचार खर्च माग दाबी गर्दै मृत्यु प्रमाणपत्र नदिएपछि उनको शव परिवार तीनदेखि शव उठाउन पाएको थिएन ।
