'बाहिरबाट हेर्दा फार्मेसी, भित्र अस्पताल सञ्चालन गरेको पाइयो'

चैत्र ३०, २०८१

लक्ष्मी साह

'From the outside, it was found to be a pharmacy, but inside it was operating a hospital'

बारा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शुक्रबार वीरगन्जको एक कार्यक्रमा सहभागी भएर जनकपुर फर्किँदै थिए । फर्किने क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको सहरोन्मुख निजगढ नगरपालिकाको बजारमा गाडीबाट एक्कासि आर्ले । बजारमा हिँड्दा हिँड्दै फार्मेसी, अस्पताल र अन्य उपचार केन्द्र क्लिनिकको अनुगमन गर्न थाले । साथमा थिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत सन्तोष ठाकुर ।

मुख्यमन्त्रीले फार्मेसी लगायतका सरोकारवालासित अनुगमनमा सोधपुछसँगै कागजात हेर्दै जाँदा गैरकानुनी रुपमा मापदण्ड नपुगेका अस्पताल तथा क्लिनिक र औषधि पसल (फार्मेसी) सञ्चालन गरिरहेको भेटे । मुख्यमन्त्रीसँगै रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत ठाकुरले भने, ‘अनुगमनको निष्कर्ष आयो – ‘बाहिरबाट हेर्दा फार्मेसी र भित्र अस्पताल सेवा सञ्चालन ।’

उनका अनुसार मोहम्दी मेडिसिन सेन्टर, सामा फार्मेसी, मिश्रा मेडिकल सेन्टर र सिद्धार्थ मेडिकल हल अनुगमन भएपछि यस्तो पाइएको हो । ‘यी चार वटै फार्मेसी बाहिरबाट हेर्दा ‘औषधि पसल र भित्र अस्पताल सेवा रहेको पाइएपछि मुख्यमन्त्रीज्यूको निर्देशनपछि बन्द गराइयो ।’ फार्मेसीमा एक्सरेदेखि ल्याब, बेड, इमर्जेन्सी उपचार सेवा देखिएकोले बन्द गराइएको उनले बताए । उनकाअनुसार २ अस्पताल, ३ डेन्टल क्लिनिक र ४ औषधि पसल बन्द गराइएको छ ।  

अनुगमनको क्रममा निजगढ ८ सहिद चोकको जीवनदान अस्पताल र निजगढ–९ बकैया टोलमा रहेको निजगढ सिटी हस्पिटललाई बन्द गर्न गराइएको उनले बताए । ‘दुवै अस्पतालले इजाजत र अन्य आवश्यक प्रक्रिया नै पूरा नगरी सञ्चालन गरेको पाइयो,’ अधिकृत ठाकुरले भने ।

त्यसैगरी निजगढ–८ सहिद चोककै नारायणी दन्त सेवा केन्द्र, लायन्स चोकको निजगढ डेन्टल क्लिनिक, निजगढ–७ को कान्ता डेन्टल मेडिकललाई पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए ।         

औषधि पसलमा नियमविपरीत बेड राखेर बिरामी भर्ना र उपचार गर्ने गरेको पाइएको उनले बताए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully