भ्रष्टाचार मुद्दामा एक वर्षदेखि फरार निवर्तमान वडाध्यक्ष पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएका यादवविरुद्ध मुद्दा परेको थियो

चैत्र २९, २०८१

विद्यानन्द राम

Outgoing Ward President arrested for one year on the run in corruption case

राजविराज — भ्रष्टाचार मुद्दामा कैद सजाय पाएर एक वर्षदेखि फरार सप्तरीको रुपनी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष पिताम्बर यादव पक्राउ परेका छन् । शुक्रबार साँझ उनलाई पक्राउ गरिएको हो ।

राजविराज–रुपनी सडकखण्डबाट रुपनीतर्फ जाँदै गर्दा यादवलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा २०६९ माघ १५ देखि ०७४ जेठ १० सम्म तत्कालीन जिल्ला शिक्षा कार्यालय दैलेखमा सब–इन्जिनियर पदमा जागिर खाएका थिए ।  

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएका यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा ०७४ पुस २१ गते अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो । 

भ्रष्टाचार मुद्दा चलिरहँदा नै यादवले जागिर छाडेर चुनाव लडेका थिए । वडाध्यक्ष पदमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादव सर्वोच्च अदालत गएका थिए । तर, ०८० फागुन २२ गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसला सदर गरेपछि यादव लुकिछिपी बस्दै आएका थिए । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully