सर्लाही — सर्लाहीको हरिपूर्वामा शुक्रबार बिहान ट्रकको ठक्करबाट साइकल चढिरहेकी एक युवतीको ज्यान गएको छ । दुर्घटनामा उनकी बहिनी घाइते भएकी छन् ।
बाँके-संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका -९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ईश्वरपुर नगरपालिका- १३ की १७ वर्षीया अञ्जलीकुमारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।
साइकलमा पछाडि बसेकी उनकी १५ वर्षीया बहिनी पूजाकुमारी घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिवन नगरपालिका- १० ताइवान टोलका ३१ वर्षीय लक्ष्मण विक प्रहरी नियन्त्रणमा छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
