सिरहा एमाले अधिवेशन : सांसद श्रेष्ठको आकांक्षामाथि तगारो, नेतृत्व चयन सकसपूर्ण

चैत्र २७, २०८१

विनय आजाद

Siraha UML Convention: Struggle over MP Shrestha's aspirations, leadership selection complete

सिरहा — सिरहामा नेकपा एमालेको नयाँ जिल्ला कार्यसमिति चयन सकसपूर्ण बनेको छ । अधिवेशनमा जिल्लामा गुट उपगुट छताछुल्ल हुँदा नयाँ कार्यसमिति चयन सकसपूर्ण बनेको हो ।

मधेश प्रदेशमा एमाले सचिव रघुवीर महासेठको एउटा र स्थायी समिति सदस्य लीलानाथ श्रेष्ठको अर्को गुट छ । प्रदेशमा मात्र होइन, आठै जिल्लामा पनि उनीहरूले गुट निर्माण गरेका छन् । जसको प्रभाव सिरहा अधिवेशनमा पनि देखापरेको हो ।

सिरहा श्रेष्ठको गृहजिल्ला हो । त्यसैले उनले यहाँको कार्यसमितिको नेतृत्वमा आफ्ना विश्वासपात्रलाई राख्न चाहन्छन् । जसका लागि उनी लामो समयदेखि कार्यसमिति सर्वसम्मत चयनको प्रयास गर्दै आएका छन् ।

तर, अर्का गुटका नेताहरू यसमा तयार देखिएका छैनन् । उनीहरू लोकतान्त्रिक प्रक्रिया अबलम्बन गर्दै चुनावमार्फत नेतृत्व चयन हुनुपर्ने अडानमा छन् । ‘कसैले आफ्ना एसम्यानलाई नै नेतृत्व दिन खोज्नु पार्टीलाई हाइज्याक गर्नु हो,’ एमाले नेता फुलेश्वर नायकले भने, ‘हामी पार्टीभित्र पनि लोकतन्त्र चाहन्छौं ।’

मंगलबारबाट जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्भव भए सर्वसम्मत र नभए स्वस्थ प्रतिपर्धाबाट नेतृत्व चयन गर्न सुझाएका थिए । ओली गइसकेपछि राति यसैका लागि बैठक पनि बसेको थियो । जसमा जिल्ला कमिटी सर्वसम्मत चयन गर्नेमा सहमति जुटाउने प्रयास भयो । तर, जिल्लादेखि केन्द्रसम्मका नेताहरूको उपस्थितिमा भएको उक्त बैठकमा बैठक निष्कर्षबिनै टुंगिएको थियो ।

श्रेष्ठले रामविलास साहलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेका छन् । श्रेष्ठले औपचारिक रुपमा अहिलेसम्म आफ्नो उम्मेदवार सार्वजनिक नगरे पनि उनका लागि पहल गरिरहेको एक अधिवेशन प्रतिनिधिले बताए ।

तर, अर्को गुटबाट भने निवर्तमान प्रदेश सांसद अशोक यादवलगायतका नेताहरु अध्यक्षका आकांक्षी छन् । ‘सिरहामा पार्टीभित्र आन्तरिक लोकतन्त्र मास्ने प्रयास हुँदैछ, जुन घातक हो’, अशोकले कान्तिपुरसित भने, ‘हामीले नेतृत्व कसैले टिका लगाएर होइन, कार्यकर्ताले छानोस् चाहन्छौं ।’ श्रेष्ठले भने सर्वसम्मत नै नेतृत्व चयन हुने दाबी गरेका छन् । ‘अब बन्द सत्र सुरु हुन्छ, सिरहामा सर्वसम्मत नै हुन्छ नि, यसमा दुई मत नै छैन,’ श्रेष्ठले कान्तिपुरसित भने । तर, सर्वसम्मत अध्यक्ष को हुने भन्ने कुरा भने उनले खुलाएनन् । जिल्ला अधिवेशनका लागि सिरहाका १७ स्थानीय तहबाट करिब ६ सय प्रतिनिधि चयन भएका छन् । जसले १ सय ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully