रौतहट — रौतहट प्रहरीले ईशनाथ नगरपालिका–१ स्थित झोलुङ्गे पुल नजिक एक क्वीन्टल बढी गाँजा र हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका–४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन् । उनको साथबाट एक थान कटुवा पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
पक्राउ परेका गिरीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । झोलङे पुलको पश्चिमपट्टी केराबारीमा गौडा कुरेर बसेको प्रहरीको टोलीले राती ४ जनाले टाउकोमा प्लास्टिकको बोरा बोकेर हिँडेको फेला पारेको थियो ।
अगाडि पछाडी केही मानिसहरु टर्च बालेर सुरक्षा दिइरहेका थिए । पुलको पश्चिमतर्फ केराबारीको बीच बाटो हुँदै भारततर्फ गाँजा बोकेर जाँदै गरेको देखेपछि प्रहरीले पहिचान गर्न टर्चलाईट बालेको थियो । त्यसपछि गाजा बोकेकाहरु बोरा फालेर भागेका थिए ।
पिछा गर्दै जाने क्रममा प्रहरीले भुइँमा लडेको अवस्थामा गिरीलाई फेला पारेर नियन्त्रणमा लिएको थियो । उनको साथबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ । गिरीको साथबाट मोबाइल र उनी लडेको स्थानभन्दा ५० मिटरको दूरीमा ४ वटा बोरा फेला परेको प्रहरी निरीक्षक उमाशंकरले बताए ।
बोराभित्र सानो ११ वटा पोका फेला पारेको छ । उक्त पोका भित्र झडै १ सय ९ किलो गाँजा रहेको प्रहरीले जनाएको छ । गिरीलाई लागुऔषध तथा हातहतियार खरखजाना कसुर अन्तर्गत अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।
गाजा बोक्ने समूहका अन्य ६/७ जना फरार रहरकोले उनीहरुको पहिचान र खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । पुलको बाटो हुँदै गाँजा ओसार पसार गरी भारततर्फ लैजान लागेको प्रहरीले पहिला नै सूचना पाएको थियो ।
