सप्तरी — साथमा पैसा भइदिएको भए यतिबेला सुरुङ्गा नगरपालिका–१ चहका गोरैयाका ललित सदा धरानको वीपी प्रतिष्ठानमा ५ वर्षीय छोरा विशाल सदाको उपचार गराइरहेका हुन्थे। तर उपचार गर्ने पैसा नहुँदा उनी बिरामी छोरालाई घरमा राखेर पैसा जुटाउन यता उता भौतारिरहेका छन्।
उनको ५ वर्षीय छोरो विशाल लामो समयदेखि पेट फुल्ने र खुट्टा सुन्निने समस्याले ग्रस्त छ। गाउँमा नजिकका स्वास्थ्यले उपचार गर्न ठूलो अस्पताल लैजान भनेपछि उनले छोरालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याए।
तर त्यहाँ पनि विशालको उपचार हुन सकेन। अस्पतालले विशाललाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजान रिफर गरेको छ। तर ललितले छोरालाई अस्पताल लैजान सकेका छैनन्।
जन्मिएको एक वर्षसम्म विशाल स्वस्थ थिए। तर, एक वर्ष कटेपछि विस्तारै उनको पेट फुल्ने समस्या देखियो।एक जनाको मजदुरीको भरमा पाँच जनाको परिवार पालिरहेका ललितले त्यसबेला छोराको उपचार गराइहाल्न सकेनन् । ‘समयमै ख्याल गर्न सकिनँ। अहिले पेट मात्रै होइन, खुट्टा पनि सुन्निन थाल्यो,' उनी भन्छन्, 'अस्पताल लैजाँदा धरान जान रिफर गरेको छ।'
गत असारमा उनले छोरालाई उपचार गर्न छिमेकी जिल्ला सिराहको लहान लगेका थिए । केही महिना डाक्टरले भनेअनुसारको औषधी खुवाउँदा पनि विशाललाई निको भएन। चैतको पहिलो साता विशाल धेरै बिरामी परेपछि उनी फेरि लाहान नै दौडिए। त्यहाँका डाक्टरले पनि उनलाई उपचार गर्न अन्तै लैजाने सिफारिस गरे । तर पैसा नभएपछि उनी छोरा बोकेर घरै फर्किन् ।
९–१० दिन सबैतिर गुहारेर उनले ६ हजार रुपैयाँ जम्मा गरे, र गत आइतबार गजेन्द्रनारायण सिंह अस्पताल पुगे । दुई दिनको उपचारपछि उनलाई चिकित्सकहरुले धरान लैजान रिफर गरे । ‘आफूसँग भएको ६ हजार रुपैयाँ खर्च भयो । साथमा ६ सय रुपैयाँ बाँकी छ,' उनले भने, 'यति पैसाले त्यहाँ पुग्नै सकिने अवस्था छैन।'
घरमा ३ वर्षका छोरा र १४ महिनाकी छोरी सहित पत्नी छोडेर आएका ललित पछिल्लो एक सातायता शम्भुनाथ नगरपालिका–३ कचन्दाहास्थित ससुरालीमा बसेर छोराको उपचारका लागि पैसाको जोहो गर्न भौतारिरहेका छन् ।
आइतबारसम्म उनले पैसाको जोहो गर्न सकेका छैनन् । ‘गाउँमा सरसापटी लिएको सबै उपचारमै खर्च भइसकेको छ, बस्न टहरा बनाएको १७ धुर जग्गाबाहेक अरु सम्पत्ति छैन,’ उनले भने, ‘छोराको थप उपचार गराउने विकल्प नपाउँदा पिरोलिरहेको छ ।’
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहले पीआइसियू (बाल चिकित्सा सघन हेरचाह एकाई) नहुँदा विशाललाई रेफर गरिएको बताए । ‘विशालको पेटमा पानी भरेको छ भने लिभरमा पनि समस्या देखिएको छ,’ डा.साहले भने, ‘रोग पत्ता लगाउन पनि पेटमा भएको पानीको पनि परीक्षण गर्नुपर्ने हुन्छ, यहाँ उपचार सम्भव नभएर पीआइसियू सुविधा भएको अस्पतालका लागि रेफर गर्नुपरेको छ ।’
विशालकी आमा ललितादेवी पनि छोराको बिग्रँदो स्वास्थ्यस्थितिका कारण चिन्तित छन् । ‘छोराले उपचार नपाएको चिन्ताले रातभरि निन्द्रा लाग्दैन, स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको छ,’ उनले भनिन्, ‘गरिब दलितलाई कोही ऋण पनि दिइरहेका छन्, मेरो छोरालाई बचाइदिन सबैमा अनुरोध गर्छु ।’
