जनकपुरधाम — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन भएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरले राइनलाई प्रदेश संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन्।
ठाकुरको हस्ताक्षरसहितको पत्र पठाउँदै लोसपाले सोमबार मधेश प्रदेश सभामुख रामचन्द्र मण्डललाई समेत त्यसबारे जानकारी गराएको छ।
यसअघि दलका नेता रहेका अभिराम शर्मा मधेश आन्दोलनमा असई थमन विक हत्या काण्डमा दोषी ठहर भएपछि प्रदेश सभाले गत बैशाख २१ गते बर्खास्त गरेको थियो। त्यसयता लोसपा दलको नेता पद रिक्त थियो। अध्यक्ष ठाकुरले प्रदेश सभामा पठाएको पत्रमा अर्को व्यवस्था नभए सम्मको लागि राइनलाई नेता मनोनयन गरिएको उल्लेख छ ।
‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधित अनुसार मधेश प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेश सभा सदस्य जयनुल राइनलाई अर्को व्यवस्था नहुन्जेल सम्म मनोनयन गरिएको व्यहोरा जानकारी साथ अनुरोध छ,’पत्रमा उल्लेख छ ।
